सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आज कतै हिमपात, कतै हुस्सु, कतै हल्का वर्षाको सम्भावना

हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना छ । त्यसैले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार ०६:३५