सूचनाको शक्ति - The Power Of Information

        

गुरुङ समुदायको नयाँ वर्ष

आज ‘तमु ल्होसार’, सार्वजनिक बिदा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ल्होसार सद्भाव र एकताको पर्व’

फाइल तस्वीर

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । सरकारले आज देशभर सार्वजनिक विदा पनि दिएको छ ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘ल्होसार सद्भाव र एकताको पर्व’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताएका हुन् । उनले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदुढ हुने विश्वास लिएका छन् ।

ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ०७:५८