सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्री रवि लामिछानेको ४८ घण्टे निर्देशन

गृह मन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले भने, ‘यो केन्द्रको तथ्यांक मात्र हो । जिल्लाको तथ्यांक आउनै बाँकी छ ।’

गृह मन्त्रालयको निर्देशनपछि कार्यविधि विपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

निर्देशनपछि मापदण्ड विपरीत पूर्व कर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार यो तथ्यांक केन्द्रको मात्र हो ।

सबै जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्छ । ‘यो केन्द्रको तथ्यांक मात्र हो । सबै जिल्लामा पनि भनेकाले संख्या अझै बढी हुन सक्छ । जिल्लाको अपडेट आएको छैन । बिहीबार साँझ ५ बजेसम्मको तथ्यांक हो,’ उनले भने, ‘कार्यविधि विपरीत सुरक्षामा खटिएका सबैका हकमा लागु हुन्छ,’ पोखरेलले भने ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार बहालवाला तथा पूर्व कर्मचारी तथा सुरक्षाकर्मीले सुरक्षाको सुविधा पाउँछन् । तर, कार्यविधिमा व्यवस्था गरिएभन्दा बढी संख्यामा व्यक्तिगत सुरक्षाकर्मी खटिएकाहरू गृहमन्त्रालयले ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ०६:५१