सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुरमा देखिएको विवाद समाधान भएसँगै काम गर्ने बाटो खुलेको छ । प्रदेश सांसद कृष्णा केसी नमुनाको अगुवाईमा भएको छलफलले विवाद समाधान भएसँगै नरैनापुर क्षेत्रमा नहर निर्माणको बाटो खुलेको हो ।
उनले निर्वाचनमा समेत नरैनापुरमा देखिएको समस्या समाधान गरेर सिक्टा सिँचाइको नहर निर्माण प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जनाएकी थिइन् । विवादका कारण उक्त क्षेत्रमा बिस्तार गर्नुपर्ने करिब साढे ८ किलोमिटर नहरको सर्भे गर्ने काम तीन वर्षदेखि ठप्प थियो । नहर कुन क्षेत्रबाट लिने विवाद समाधान भएसँगै नहर निर्माणको बाटो खुलेको सांसद नमुनाले जानकारी दिइन् ।
‘नरैनापुर खण्डमा नहर निर्माणको काम अघि बढाउन गरिएको पहलले सार्थकता पाएको छ । सबै पक्षसँग संवाद र समन्वय गरेर विवाद हल गरिसकेका छौं,’ उनले भनिन्, ‘अब बाँकी रहेको सिक्टा पूर्वी नहरको काम अगाडी बढ्छ । विवाद समाधानमा सहयोग गर्नुहुने सबैलाई मेरो तर्फबाट धन्यवाद दिन चाहान्छु ।’ सांसद नमुनाका अनुसार नहर स्थानीयको माग अनुसार नै दक्षिणतिर भन्दा उत्तरतिर जंगल हुँदै लैजाने सहमति भएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य नमूनाको पहलमा सिक्टाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुर क्षेत्रमा नहरको निर्माण सुरु भएको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । नहर निर्माण कार्य सम्पन्न भएपछि अब सिँचाइका लागि कृषकलाई सहज हुने उनले बताए । सिक्टाको पूर्वी नहर अन्तर्गतका चारवटा शाखा नहरको काम भने सकिएको आयोजनाले जनाएको छ ।
फत्तेपुर, राजकुलोका साथै एस–१ देखि एस–४ सम्म गरी ६ वटा शाखा नहरमध्ये फत्तेपुर, राजकुलो, एस–२ र एस–४ को निर्माण कार्य सकिएको र दुई वटाको काम बाँकी रहेको सिक्टा सिँचाई आयोजनाले जनाएको छ । अहिले सिक्टाको पूर्वी नहरको फत्तेपुर २४ किलोमिटरसम्म पानी छोडिएको छ । पूर्वी नहर खण्ड ३७ किलोमिटरमा ठेक्का लागेर निर्माणाधिन रहेको छ ।
उक्त खण्डको भौतिक प्रगति करिब ९० प्रतिशत रहेको र निर्माण सक्नुपर्ने म्याद यस वर्षको माघ २९ रहेको छ । पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालिका–कुमार जेभिसँग तीन अर्ब ३० करोड २१ लाख ३९ हजार ५१९ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । अहिले फत्तेपुरसम्मको करिब दुई हजार ५०० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको सांसद नमुनाले बताइन् । पूर्वी मुल नहरको राजकुलो सिंचाई प्रणालीमा २०७६ सालदेखि नै पानी सन्चालन भइरहेको छ ।
उक्त प्रणालीबाट एक हजार हेक्टरमा सिंचाई सुविधा पुगेको छ । सिक्टा सिंचाई आयोजनाले पश्चिमी मूल नहर र शाखा नहरबाट पश्चिमतर्फ करिब १६ हजार हेक्टर क्षेत्रफलमा पानी पुगेको दाबी गर्दै आएको छ । तर, नरहको ठाउँठाउँमा कमजोर निर्माण भएकोले उक्त खण्डको प्रभावकारितामा प्रश्न उठिरहेको छ । सिक्टा सिंचाई आयोजनाबाट पश्चिममा ३३ हजार ७६६ र पूर्वमा नौ हजार हेक्टर गरी जम्मा ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउने लक्ष्य छ ।
सत्यपाटी संवाददाता । बाँके