सूचनाको शक्ति - The Power Of Information

        

अभिमत

सम्बन्ध : चिसो र सुन्तला, प्रचण्ड र ओली

माधवलाई सरकारमा ल्याउने प्रयास भइरहेको पनि सुनिन्छ । यस अर्थमा, खुमलटारको सुन्तला स्वादनले ओली–नेपालबीचको दुई वर्ष लामो तिक्तता हटाउने पो हो कि ?

सुन्तलाको मौसम छ । बजारभरि देखिनु सामान्य हो । हिउँदको चिसो मौसममा घाम ताप्दै सुन्तला खानु, सम्झदै क्या गज्जब ! अझै त्यासमा बदाम हुनुपर्छ । चिसो याम र सुन्तलाको सम्बन्ध पनि गज्जबको । चिसैमा पाक्नुपर्ने ।

खासमा गर्मी याममा पाके झनै गज्जब हुन्थ्यो । तर, पनि चिसो र सुन्तलाको सम्बन्ध अटुट छ । मौसम यामअनुसार फेरिन्छ नै । तर, उत्पतिदेखि आजसम्म सुन्तला उस्तै छ । सुन्तलाका जति धेरै गुण छन् उति नै धेरै उपयोगिता र किस्साहरु छन् ।

सुन्तला खाए के हुन्छ ?

सुन्तलामा भिटामिन ‘सी’ पाइन्छ । स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक मानिन्छ । दिनहुँ सुन्तला खाए धेरै रोग निको हुन्छ । मिर्गौला सम्बन्धी रोग लाग्ने सम्भावना कम हुँदै जान्छ । पत्थरीको समस्यामा न्यूनता आउँछ ।

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ । जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ । नियमित खाए कब्जियत कम हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुने भएकाले पाचन प्रक्रियालाई सहज बनाउँछ । यस्ता धेरै फाइदा छन् ।

सुन्तला सास्त्र

धेरै साहित्यकारले सुन्तलालाई ‘अधर’ अर्थात तल्लो ओठको विबम्को रुपमा प्रयोग गरेका छन् । हेर्दा पनि त्यस्तै देखिन्छ । विशेषगरी, महिलाको सुन्दरताको बखान गर्दा ‘सुन्तले अधर’ भन्ने गरेको पाइन्छ ।

सुन्तले अधर धने धेरै कविता, गीत, गजल र मुक्तक लेखिएका छन् । सुन्तला सामान्य फल हो । तर, यसको अनेक उपयोगीता छ । कोही कोसेलीको रुपमा प्रयोग गर्छन्, कोही देवी देवतालाई चढाउँछन् । कोही घाम ताप्दै खान्छन् र मुख मिठ्याउँछन् ।

गज्जबको संयोग

उपत्यकामा चिसो उकालो लाग्दै थियो । फलफूल पसलहरुमा जतात्यतै सुन्तला । त्यति नै बेला सरकार गठनले राजनीतिको तापक्रम भने उकालो लाग्यो ।

लामो समयदेखि पानी बाराबारको अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै सोफामा मुसुमुसु हाँस्दै बसेको देखिए । र, दुवैको हातमा सुन्तला थियो !

त्यो तस्बीर, ओली–प्रचण्ड र चिसो–सुन्तालाबीचको सम्बन्ध ठ्याक्कै मिले जस्तो ! को चिसो वा को सुन्तलाजस्तै स्वादिष्ट त्यो तपाई नै छुट्याउनुस् । तर, चिसो र सुन्तला जस्तै ओली र प्रचण्ड मिलेको देखियो । सन्दर्भ थियो, सांसदको शपथपछि आयोजना गरिको चियापान ।

०००

भनिन्छ नि, राम्रो कामको सुरुवात गुलियो खाएर गर्नु । त्यसै पो भयो कि ? ओली र प्रचण्डले गुलियो सुन्तला खाएर सुरुवात गरे, एमाले–माओवादीको सरकार बन्यो । प्रचण्ड प्रधानमन्त्री भए, एमाले सत्तामा आयो । गुलियो खाएर राम्रै गरे क्यारे !

तर, यतिमै सुन्तला खाने क्रम रोकिन्न । सायद, गुलियो सुन्तलाले धेरै काम गर्यो र गर्ने छ । दुई वर्षपछि प्रचण्डलाई बालकोट मात्र पुर्याएन, ओलीलाई पनि खुमलटार पुर्यायो । लौ गज्जब भएन त ? आज पनि ओली–प्रचण्डले घाम ताप्दै मज्जाले सुन्तला खाए ।

आजको सुन्तला स्वादनले माधवकुमार नेपाललाई पनि एक ठाउँमा पो ल्याउने हो कि ? खुमलटारको छतमा तीन कुर्सी थिए । दुई कुर्सीमा प्रचण्ड र ओली । अर्को खाली थियो । त्यो कुर्सी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवको लागि पो हो कि ?

आज बिहान मात्रै प्रचण्ड र माधवबीच वार्ता भएको थियो । उक्त भेटमा ओलीसँग संवाद गराउने प्रचण्डले बचन दिएका थिए । माधवलाई सरकारमा ल्याउने प्रयास भइरहेको पनि सुनिन्छ । यस अर्थमा, खुमलटारको सुन्तला स्वादनले ओली–नेपालबीचको दुई वर्ष लामो तिक्तता हटाउने पो हो कि ?

जसरी, सुन्तलाले मान्छेको स्वास्थमा फाइदा गर्छ । ओली–प्रचण्डले सुन्तला खाँदै गरेको भलाकुसरीले पनि वाम राजनीतिलाई त्यसरी नै फाइदा गर्न सक्ला ? सुन्तलामा हुने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गरेजस्तै ओली–माधव तिक्तताको चापलाई नियन्त्रण गर्न सके धेरै राम्रो ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ११:१७