सूचनाको शक्ति - The Power Of Information

        

आलेख

दोर्जेको चौँरी गोठ, ‘कठै किसानको जिन्दगी’

ठूलो सिलावरको डेक्चीमा दुध खन्याउंदै दोर्जेले भने, ‘यही दूधको पनि बजार छैन । दुध बिक्दैन, छुर्पी बिक्दैन, एउटै चौँरीको एक लाखभन्दा बढी पर्छ झन् चौँरी कसले किन्छ ?’

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ खरिढुंगा माथिको विशाल पहाडी मैदानमा एउटा भव्य अन्तराष्ट्रिय चलचित्र ग्राम बनिरहेको छ । त्यही चलचित्र ग्रामसँगै जोडिएको एउटा खर्क । हिमाली कुहिरो र कुहिरोले गराइरहने झरी छल्दै, अनकन्टार अक्करे भीर तथा घनघोर जङ्गलमा वर्षौँदेखि व्यावसायिक चौँरी पालन गरिरहेका ४१ वर्षीय दोर्जे शेर्पा ।

न मानव बस्ती, न भरपर्दो सडक, न बिजुली, न सञ्चारको पहुँच । अनकन्टार जङ्गलको बीचमा एकोहोरो भोटे कुकुर भुकेको आवाज मात्रै सुनिन्छ । नजिकै निर्माण भइरहेको फिल्मसिटीको पूर्वाधारले दोर्जे शेर्पालाई कुनै सुविस्ता दिएको छैन । चकमन्न जङ्गलको बीचमा स–साना छाप्रो अनिसँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । हुस्सुले ढपक्क छोपिएको पहाडी चुचुरो ।

दोलखा र सिन्धुपाल्चोकको सीमा रेखामा रहेको यो खर्कमा मान्छेको आवाज निकै बिरलै सुनिन्छ । दुई जिल्लाको सीमा दोभानसँगै चित्राले बारेको एउटा गोठ देखिन्छ । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने यो सुनसान गोठ र विशाल खर्क, न दोलखाका मान्छे न सिन्धुपाल्चोकका मान्छे कै पहुँचमा छ । तर ४१ वर्षीय दोर्जे शेर्पाको चार जनाको परिवार यही खर्कमा रमाइरहेको छ ।

सिमसिम परिरहेको झरिमा निथ्रुक्क भिजेको स–साना चौँरीको लैनो बाच्छा घिसारी रहनुभएका दोर्जे शेर्पा, अनकन्टार जङ्गलको बीचमा अकस्मात् यो स्तम्भकार पुग्दा झस्किँदै सोध्छन्, ‘भोट माग्न आएको हो ?’ यो पंक्तिकार पुग्दा मुलुक चुनावी रङ्गमा रङ्गिएको थियो । दोर्जे शेर्पाका अनुसार स्थानीय तह चुनावको समयमा केही नौला मान्छे भोट माग्न गोठमा पुगेका थिए । त्यसपछि दोर्जेको गोठमा कसैले फर्किएर हेरेको छैन ।

लस्करै चित्रा, त्रिपाल र सेउलाले बारेको ३ वटा छाप्रोमा दोर्जे शेर्पाको संसार अटाएको छ । जङ्गली जनावरबाट आफू र चौँरीलाई जोगाउन दोर्जेले ३ वटा हिमाली भोटे कुकुर पाल्नुभएको छ । दुई वटा कुकुर दिनभर जाग्छन्, अर्को एउटा भोटे कुकुर साँझ घाम अस्ताएपछि मात्र भुक्न थाल्छ । बिहान–बेलुकी आगो फुक्ने र ताप्ने, दिउँसो चौँरी चराउने शेर्पाको दैनिकी, विगत नौ वर्षदैखि चलिरहेको छ ।

‘१३ वर्षको उमेरमै गोठालो भइयो । अहिले ४१ वर्ष पुगे । मेरो जीवन चौँरी र भेडासँगै बितेको छ,’ कुहिरोले पारेको पानीमा निथ्रुक्क भिजेका दोर्जेसँग निकै पट्यारलाग्दो जीवन अनुभव रहेछ । तर कसले सुन्ने ? बाबुको साथ लागेर गोठ मै हुर्किएका दोर्जेलाई कुनै चाडपर्वले छुँदैन । दशैं यही गोठमा बित्यो । तिहार यही गोठमा बित्यो । दोर्जेको बाँकी तीन जनाको परिवार अहिले पनि यही चौँरी खर्क मै बस्छ ।

‘एउटा छोरा काम खोज्न शहर पसेको छ । कान्छो छोरो १७ वर्षको भयो, फिटिक्कै काम गर्दैन, दिनभरी घुमेर हिँड्छ,’ दोर्जेले पसिना पुछ्ँदै दुःख सुनाउँछन् । ‘चौँरीहरू खोई त ?’ यो पंक्तिकार दोर्जेसँगको संवादलाई सहज बनाउन प्रयास ग¥यो । दोर्जे, छोरालाई गाली गर्दै चौँरीको खोजीमा जङ्गल पस्ने हतारोमा थिए । हामी चौँरीको खोजीमा दोर्जेसँगै जङ्गल र खर्क चाहर्न थाल्यौं । मुटु कमाउने चिसो छ । हुस्सुले एकोहोरो पानी पारी रहेको छ ।

दोर्जे चौँरी धपाउने गुलेली र वर्षात छेल्ने पानीकागज च्यापेर उकालो लागे । हामी दोर्जेको पदचाप पच्छ्याइँदै छौं । ‘मेरो हात मर्किएको छ, चौँरी पर परसम्म जङ्गलमा पुगेका हुन्छन्, त्यसैले गुलेलीले हानेर बोलाउनुपर्छ‘, चौँरीखर्कबाट उकालो लम्किरहेका दोर्जेले सुनाए । दोर्जे खेतीपातीको सिजनमा त्रिपुरासुन्दरी गाउँपालिका, ६ धुस्कुनमा रहेको घरमा जाने गरेका छन् । धान, कोदो जे पाकेको छ त्यो बाली भित्र्याएर फेरि फर्केर यही गोठमै आउने हो, खेतीमा पुगेर गोठमा फर्किन ठ्याक्कै एकदिन लाग्छ ।

दोर्जेले भने, गोठमा यत्रा चौँरी छन्, लाखौं लगानी डुबेको छ, कसरी मन मान्छ र ? दोर्जेले, पशु रोगमा उपचारको सामान्य खालका तालिम पनि लिनुभएको रहेछ, चौँरी बिरामी पर्दा सामान्य उपचार आफैं गर्छु तर औषधी खोज्न चरिकोटसम्म पुग्नुपर्छ, उनको आफ्नै पीडा छ । ‘चित्राले बारेर गोठ बनाउने, भाँडाकुँडा बोकेरै हिँड्ने, पिठो र नुन डोकामा बोक्ने, ढिँडो पकाएर खाने यो गोठाले जिन्दगी त हो,’ उनले मलिन अनुहार पारे ।

‘पात्रो हेरेर गोठ सार्ने तिथि मिलाउनुपर्छ, लेकाली बस्तीबाट बेँसी झर्दा साइत हेराएन भने चौँरीहरू मर्न सक्छन्, गोठालाले गोठसँगै हिँड्नुपर्दा धेरै कुरा ख्याल गर्नुपर्छ सर,’ उनले थपे, ‘मेरो आधा जीवन यसैगरी जङ्गल मै बित्यो, म सँग घरमा बस्ने समय नै भएन ।’ जाडोयाम सुरु भैसक्यो । अब बेँसी झर्ने हतारो छ । फागुन लागेपछि फेरि बिस्तारै यही गोठमा फर्किनुपर्छ, अब बेँसी झर्ने बेला भयो, त्रिपुरासुन्दरी गाउँपालिका कै तौथली नजिक दोर्जेले चौँरी गोठ सार्ने तयारी गरिरहेका छन् ।

‘चित्राले बारेर गोठ बनाउने, भाँडाकुँडा बोकेरै हिँड्ने, पिठो र नुन डोकामा बोक्ने, ढिँडो पकाएर खाने यो गोठाले जिन्दगी त हो,’ उनले मलिन अनुहार पारे । ‘पात्रो हेरेर गोठ सार्ने तिथि मिलाउनुपर्छ, लेकाली बस्तीबाट बेँसी झर्दा साइत हेराएन भने चौँरीहरू मर्न सक्छन्, गोठालाले गोठसँगै हिँड्नुपर्दा धेरै कुरा ख्याल गर्नुपर्छ सर,’ उनले थपे, ‘मेरो आधा जीवन यसैगरी जङ्गल मै बित्यो, म सँग घरमा बस्ने समय नै भएन ।’

पशुपालन व्यावसायिक अथवा कृषि कर्ममा सक्रिय दोर्जेले वर्षमा थुप्रै बाच्छो बेचेका छन् । ‘बाच्छा जोगाउनै कठिन पर्छ,’ दोर्जेले सुनाए, ‘गोठमा चितुवाको जोखिम छ । त्यसैले भोटे कुकुर पालेको छ । गोठमा चौँरी र बाच्छासँगै हिँड्ने ३ वटा भोटे कुकुर छन् । यिनै कुकुरले राति गोठलाई पहरा दिन्छन् । नचिनेको मानिस समेत गोठमा छिर्न दिँदैनन्, चर्न गएका चौँरी हराएमा यिनै कुकुरले खोजेर ल्याउँछन्, कुकुरकै सहायताले वर्षौंदेखि आफ्ना चौँरी र बाच्छा जोगाएर बसेको छु ।’

सुरुमा भेडा पाल्नकै लागि पढाइ त्यागेका दोर्जे व्यवहारले थिचिएपछि चौँरी पालक बने । सुरुमा रहरै रहरमा भेडा चराउन जान्थे, पाँच कक्षामा पढ्दै गर्दा भेडा पाल्ने रुचि बढ्यो । विस्तारै विद्यालय छाडेर भेडिगोठमा बस्न थाले, १३ वर्षको कलिलो उमेरबाटै भेडा पालन सुरु गरेका दोर्जे त्यसपछि चौँरी गोठ थेगेर बसेका छन् । पढाइ पाँच कक्षामै सीमित हुन पुग्यो । रहर भन्दा बढी वाध्यताले पढाइ छाडेका दोर्जे कृषि कर्ममा जोडिए र त्यसपछि गोठालो बने । अहिले दोर्जेको थाप्लोमा परिवार पाल्नुपर्ने दबाब छ ।

‘रहरले रोजिएको पेसा अहिले आम्दानीको स्रोत त बनेको छ तर साहुको ऋण तिर्दा तिर्दै आजित छु,’ दोर्जेको यो सबैभन्दा ठूलो पीडा हो । ‘कोरोनाको महामारीमा १८ लाख भन्दा बढीको छुर्पी नष्ट भयो, त्यसैले साहुको सय कडा ३६ व्याज तिरेर बसेको छु,’ दोर्जेले भने ‘कुनै पनि सरकारले कृषि ऋण दिएनन्, साहुको १० लाख भन्दा बढी ऋणमा डुबेको छु ।’ ‘हैन सर, पढेर पनि हामी जस्ता किसानका छोराले जागिर पाउने हैन, यही कर्म गर्ने हो नत्र विदेशिनुपर्छ, तीन पुस्ता देखिको चौँरी र भेडा पालन व्यवसाय थेगिरहेका दोर्जेले थपे, ‘घरमा बुबाले एक्लै नसक्ने भएपछि पढाइ त्यागेर म गोठालो बनेको हो ।’

दोर्जेले भने, ‘त्यसपछि यही पाटनमै भेडा बाख्रा र चौँरी चराउन थाले, हिउँदमा बेँसीका फाँट र गर्मी याममा यही गौरीशंकर हिमालको काखको बुकीमा रमाउँछु ।’ चाडपर्व, झरी, बादल, हिमपात जस्तो अवस्थामा पनि उनीहरू यही गोठमा दिन काटिरहेका हुन्छन् । दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने यो प्रस्तावित फिल्म सिटीको पाटन देखि कालिन्चोक मन्दिरको फेदीसम्म चौँरी चराउन पुग्नुपर्छ । त्यसैले उनीहरूको जीवनशैली अरु भन्दा भिन्न छ ।

चौँरीलाई गोठमा फर्काउन गुलेलीले मट्याङ्ग्रा हानी रहेका दोर्जेले थपे, ‘घुमन्ते जीवन बिताउने हामी गोठालाहरूको जिन्दगी नै यही हो । चरण क्षेत्रमा घाँस पाउन्जेलसम्म हामी यहीं बस्छौं । तल खोँचमा भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको दोर्जेको गोठबाट धुवाँको मुस्लो निस्कि रहेको छ । यस्तो चिसो छ, मुढा बालेन भने त रात कटाउनै सकिन्न नि, दोर्जेले गोठ तिर देखाउँदै एउटा सुकेको गुराँसको मुढो पल्टाए । चौँरीहरू विस्तारै गोठ तिर फर्किए, हामी दोर्जेको गोठमा फर्कियौ ।’

‘हातले बनाएको शुद्ध दूधको छुर्पी हो,’ दोर्जेले भने, ‘अहिले सहकारी समूह के के को नाममा मेशिनबाट छुर्पी बनाउनेहरूले बजार सुकाएका छन् । पहिले पहिले बिदेशसम्म पठाउने भन्दै व्यापारीहरूले अर्डर गर्थे तर अहिले हामी जस्ता साना किसानले उत्पादनले बजार नै पाउँदैन । व्यापारीले सामानको पैसा ६ महिना सम्म दिँदैनन्, यता साहुको ऋणले च्यापी रहेको हुन्छ ।’ चौँरीको दूध, मकैको आँटो, ढिँडो, जङ्गलमा पाइने च्याउ, निगालाका टुसा, निउरो, इस्कुस जस्ता तरकारी दोर्जेको गोठमा देखिन्थ्यो ।

भेडाको ऊनले बुनेको राडीपाखी ओढ्ने, ओछ्याउने थिए । ‘यो राडीपाखीले जमिनको पानी जीउमा पर्न दिदैँन सर,’ दोर्जेले सुनाए, ‘यसले रोग लाग्दैन । हिमपात भएको बेला न्यानो हुन्छ ।’ दोर्जे गोठमा ठूला मुडा जोडेर गोठमा आगो बाले, ‘छिटो छिटो सर्नुपर्छ, कतिन्जेल बस्ने भन्ने टुंगो हुँदैन त्यसैले यो गोठ व्यवस्थित छैन ।’ दोर्जे आगो बालेर चौँरीको दूधको चियाले यो पङ्क्तिकारलाई सत्कार गर्न आतुर देखिन्छन् । गोठ भरि चौँरीको दूधबाट बनाएको छुर्पी देखिन्छ ।

‘हातले बनाएको शुद्ध दूधको छुर्पी हो,’ दोर्जेले भने, ‘अहिले सहकारी समूह के के को नाममा मेसिनबाट छुर्पी बनाउनेहरूले बजार सुकाएका छन् । पहिले पहिले विदेशसम्म पठाउने भन्दै व्यापारीहरूले अर्डर गर्थे तर अहिले हामी जस्ता साना किसानले उत्पादनले बजार नै पाउँदैन । व्यापारीले सामानको पैसा ६ महिना सम्म दिँदैनन्, यता साहुको ऋणले च्यापी रहेको हुन्छ ।’ दोर्जेको गोठ बिजुलीको पहुँचबाट पर छ । मोबाइल अथवा इन्टरनेटले काम गर्दैन । गोठमा बालेको मुढा र टुकीको उज्यालोको भरमा गुजारा चलाई रहेकी दोर्जेकी श्रीमती मोबाइल चार्ज गर्न ४ घण्टा पैदल हिंडेर आज खरिढुंगा झरेका रहेछन् ।

हाम्रो भलाकुसारी चल्दै गर्दा दोर्जेकी श्रीमती पासाङ पिठ्युमा पिठो र नुन बोकेर गोठमा पुग्दा झमक्क साँझ परिसकेको छ । दोर्जेको गोठका सबै चौँरी एक हाते रहेछन् । आफ्नै भाषामा दोर्जे दम्पतीले संवाद भयो । पासाङ हातमा सानो डोरी र ढुंग्रो बोकेर हतार हतार चौँरी दुहुन थाले । ‘यी चौँरी सबैले मलाई दहुन दिँदैनन्,’ दोर्जेले श्रीमतीलाई देखाएर भने, ‘सबै सँधै उहाँले मात्रै दुहुने हो ।’ सबै लैना बाच्छा पालै पालो आफ्नो माऊसँग गए । पासाङले पालै पाले दुध दुहुनु भयो ।

‘सर दुध घटेको छ,’ झण्डै ५० लिटर दुध ठूलो सिलावरको डेक्चीमा खन्याउंदै दोर्जेले भने, ‘यही दूधको पनि बजार छैन । दुध बिक्दैन, छुर्पी बिक्दैन, एउटै चौँरीको एक लाखभन्दा बढी पर्छ झन् चौँरी कसले किन्छ ?’ ऋण नै ऋणको दवावमा कृषि कर्म थेगिरहेका दोर्जेको अघिल्तिर डेक्चीभरी दुध थियो, गोठभरि दुहुना चौँरी थिए तर आँखाका डिलमा आँशु टिलटिल रसाइरहेको प्रष्ट देखिन्थ्यो । यति लामो कुरापछि मनमा पीडा भयो, कठै किसानको जिन्दगी ।

स्रोत : आइएनएस–स्वतन्त्र समाचार
प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १७:१९