सूचनाको शक्ति - The Power Of Information

        

डुडुवाको सबैभन्दा ठुलो सडक योजना कार्यान्वयनमा

बाँके डुडुवा गाउँपालिकाले सबैभन्दा ठुलो सडक योजना कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निर्माणको कार्य शुरु भएको हो ।

नारायाणम् निर्माण सेवा प्रालिले ६ करोड ९ लाख २२ हजार ६२७ रुपैयाँमा सडक निर्माणको ठेक्का पाएको छ । साढे तीन किलोमिटर पिसिसी सडकसँगै एक वटा कजवे, १५ वटा कल्भर्ट निर्माण गरिनेछ ।

डुडुवा गाउँपालिकाका प्रायः सबै वडा बाढी प्रभावित क्षेत्र रहेकाले त्यहाका अधिकांश सडक पिसिसी नै उत्तम मानिएकाले सबैजसो सडक पिसीसी नै निर्माण गरिएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्रकुमार बर्माले बताए ।

गाउँपालिकाको वडा नं. २ अमृतपूर्वादेखि रामनगर पाँझासम्म साढे तीन किलोमिटर पिसिसी सडक निर्माण हुनेछ । गाउँपालिकाको विकट क्षेत्रका बासीका लागि आवतजावतमा ठुलो समस्या रहेकाले यो सडक निर्माणपछि ठुलो राहत पुग्ने जनाइएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उनले गाउँपालिकाकै अति दुर्गम, बाढी र डुबानबाट पीडित नागरिकको सहजताका लागि सिधा सम्पर्क जोड्न सडक निर्माणको कार्य शुरु भएको भन्दै सडक निमार्णपछि यस क्षेत्रका नागरिकलाई सहजता प्रदान हुने बताए ।

गाउँपालिकाका प्राविधिक शाखाका ओभरसिएर मदनेश्वर झाँका अनुसार पालिकामा निर्माण भएका अधिकांश सडकहरु पिसीसी गरिएको छ, भने यो सडक बाढी र डुबान क्षेत्रमा कालोपत्रे भन्दा पनि भरपर्दो रहेकोले उत्तम मानिएको हो ।

सडक निर्माणपछि गाउँपालिकाको वडा नंं. २ अन्तरगत डुडुवा नालापारी रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, वोर्डर चौफेरी, छिटैपूर्वाका साढे ३०० बढी घरधुरी र नरैनापुर गाउँपालिकाका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने किसानलाई पनि सहयोग पुग्नेछ ।

सडकको अभावमा अहिले त्यस क्षेत्रका करिब ६ गाउँका नागरिकलाई आवतजावतका लागि निकै सास्ती हुँदै आएको छ । विशेषगरि वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण निकै समस्या हुँदै आएको छ । सडकको अभावमा विरामीलाई सदरमुकाम ल्याउन पनि समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ११:३९