सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको फत्तेपुरमा ७ औँ राष्ट्रिय थारु साहित्य सम्मेलन हुने

फाइल तस्वीर

७औं राष्ट्रिय थारुसाहित्य सम्मेलन बाँकेको राप्ती सोनारी गाउँपालिका–६ सिधन्वामा हुने भएको छ ।

थारु लेखक संघ नेपालले थारु गोचाली समाज फत्तेपुर, बाँकेको सहकार्यमा आगामी माघ २०, २१ र २२ गते ३ दिने राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।

यस बर्ष बाँकेमा राष्ट्रिय सम्मेलन हुने भएपछि साहित्यमा रुझान राख्ने बाँकेका थारु युवाहरु उत्साहित भएका छन् । राष्ट्रिय सम्मेलनको लागि सहआयोजक थारु गोचाली समाज फत्तेपुरले विभिन्न चरणमा तयारी बैठक थालेको छ ।

यसै क्रममा थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुको अध्यक्षतामा बसेको बैठकले थारु राष्ट्रिय साहित्य सम्मेलन आयाजेनाको मिति तय गर्नुका साथै सम्मेलनका लागि विभिन्न तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ ।

थारु लेखक संघका सदस्य शेखर दहितको संयोजकत्वमा प्रस्तावना तयारी समिति, गोविन्द दहित चौधरीको संयोजकत्वमा ब्यवस्थापन समिति, सोमनाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिति, कालुराम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिति, सुन्दरलाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिति, सुनिता थारुको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले जनाए ।

सम्मेलनमा झापादेखि कञ्चनपुर सम्मका थारु साहित्यकारहरुको सहभागिता रहने थारु लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा जंग्रार साहित्यक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी दिए ।

सम्मेलनमा विभिन्न विधाका साहित्य वाचनसँगै सम्मेलन आयोजना हुने जिल्ला तथा स्थानीय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर ब्यापक बहस, प्यानल छलफल गरिने उनले बताए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १७:५३