पुरुषले काम गर्न चाहेमा पनि घरको काम प्रायः महिलाको जिम्मेवारीमा रहन्छ । किन यस्तो हुन्छ त भन्ने प्रश्नको जवाफ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका दार्शनिकहरूले खोजेका छन् । कामलाई कसरी बुझिन्छ, त्यो महिला र पुरुषमा भिन्न भिन्न हुने उनीहरु बताउँछन् ।
जब महिलाहरूले भान्साकोठामा फोहोर बेसिन देख्छन्, उनीहरुलाई त्यो सफा गर्नुपर्ने ठाउँ जस्तो लाग्छ तर पुरुषका लागि यो त्यो ठाउँ मात्रै हो जहाँ पाउरोटीको टुक्रा इत्यादि छन् । शोधकर्ताको यो अनुसन्धान प्रतिष्ठित पत्रिका फिलोसोफी एन्ड फिनोमेनोलोजिकल रिसर्चमा छापिएको छ ।
अनुसन्धानकर्ताहरु भन्छन् कि उनीहरूले महामारीको समयमा महिला र पुरुषहरूले घरको काममा बिताएका समयको बारेमा जानकारी र तथ्याङ्क सङ्कलन गरेका थिए । यस क्रममा उनीहरुले दुईवटा प्रश्नको उत्तर खोजे । किन महिलाले पुरुषको तुलनामा बढी काम हातमा लिन्छन् र पुरुषलाई किन लाग्छ कि उनीहरु जिम्मेवारी बराबर बाँडिरहेका छन् जबकी यस्तो भइरहेको हुँदैन ।
असमानता कायमै
महामारीको समयमा अमेरिकी घरपरिवारको सर्वेक्षणले ७० प्रतिशत महिलामा पूर्णतया वा प्रायः घरपरिवारको जिम्मेवारी रहेको पत्ता लगाएको थियो । ६६ प्रतिशत मामिलामा बच्चाको हेरचाह गर्ने जिम्मेवारी पनि महिलाको थियो । जब महामारी थिएन, त्यतिबेला पनि कामको विभाजनको अनुपात लगभग यस्तै रहन्छ ।
क्याम्ब्रिज विश्वविद्यालयको इतिहास र दर्शन विभागका टम म्याक्लेल्यान्डका अनुसार घरायसी जिम्मेवारीको बाँडफाँटमा असमानता कायमै छ र पुरुषहरूले यसको महसुससमेत गर्दैनन्, त्यसैले यसबारे पारम्परिक विश्लेषण पर्याप्त छैन । अनुसन्धानकर्ताहरु भन्छन् कि ‘अफोर्डेन्स थ्योरी’ मार्फत् यी प्रश्नको जवाफ दिन सकिन्छ ।
यो सिद्धान्तका अनुसार मानिसहरु कुनै चिजलाई कसरी हेर्छन्–बुझ््छन्, त्यसै आधारमा उनीहरुले काम गर्ने तरिका निर्भर हुन्छ । जेजे गिब्सनले दिएको यो सिद्धान्तका अनुसार विश्वको व्याख्या चिजको आकारको रुपमा गर्न सकिँदैन, ती चिज कसरी हेरिन्छ भन्ने कुरा पनि निकै महत्वपूर्ण छ ।
म्याक्लेल्यान्डको अनुसन्धानले के भन्छ भने जब महिला भान्सा कोठामा जान्छिन्, उनले नधोइएका भाँडाहरू वा खाली फ्रिज देख्ने सम्भावना बढी हुन्छ । यद्यपि, शोधकर्ताहरूले स्पष्ट पारेका छन् कि यो अनुसन्धान पुरुषहरूका लागि बहाना खोज्ने र उनीहरुलाई माफी दिनका लागि होइन ।
पितृत्व बिदाको उदाहरण
म्याक्लेल्यान्ड भन्छन् कि एक व्यक्तिले कसरी चीजहरू हेर्छन्, यो अभ्यासमा निर्भर हुन्छ र मानिसहरुले अभ्यासमार्फत् नै राम्रो बानी सिक्न सक्छन् । उनले भने, ‘यदि तपाईं पानी उमालिरहनुभएको छ भने वरिपरि सफा गर्नुपर्छ कि भनेर हेर्नुहोस् । बिस्तारै तपाईंले भिन्न तरिकाले सोच्नुपर्दैन किनभने फोहोर तपाईंले देख्न थाल्नुहुनेछ । छरिएका पाउरोटीका टुक्राले तपाईंको ध्यान तान्न थाल्नेछ र भन्न थाल्नेछन् कि हामीलाई सफा गर ।’
म्याकक्लेल्यान्डका अनुसार यो शोधको उद्देश्य यो पूरा प्रक्रियालाई शैक्षिक दृष्टिकोणबाट बुझ्न र पिता बन्दा पाइने छुट्टी सम्बन्धि नीति जस्ता ती क्षेत्रलाई प्रभावित गर्नु हो जहाँ यसको आवश्यकता पर्छ । उनले भने, ‘पितृत्व अवकाशबारे एक महत्वपूर्ण कुरा यो हो कि यसलाई बच्चाको देखभालसँग सम्बन्धित कामको विभाजनको रुपमा हेर्नु हुँदैन । (बच्चाको देखभालका) ती सुरुवाती महिना वास्तवमा भविष्यमा त्यससँग सम्बन्धित कामका लागि तयार गर्नका लागि हो । यदि एक पुरुषले लामो छुट्टी पाउँछ भने देखभालका लागि काम गर्ने उनको बढी अभ्यास हुनेछ र त्यतिबेला भविष्यमा कामको अली बढी विभाजन हुनेछ ।’
सत्यपाटी संवाददाता । काठमाडौं