सूचनाको शक्ति - The Power Of Information

        

जसपा र नाउपा किन गएनन् सरकारमा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दुई दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारमा आफ्ना प्रतिनिधि पठाएनन् ।

प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन् । नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ ।

‘उहाँ (रेशम चौधरी) जबसम्म रिहाइ हुनुहुन्न, त्यतिबेलासम्म हामी सरकारमा जान्नौं,’ नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘यो पार्टीको नीति हो । यद्यपि यस विषयमा पार्टीले औपचारिक निर्णय गरेको छैन ।’

नाउपाले मंगलबार पार्टीको बैठक बोलाई सरकारको विषयमा औपचारिक निर्णय गर्ने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले मंगलबार चौधरी बसेको ठाउँ केन्द्रीय कारागार डिल्लीबजार पुगी चौधरीलाई भेट गरेकी थिइन् ।

त्यसअघि उनी प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएकी थिइन् । जसपाले भने सरकारमा कसलाई पठाउने भन्ने विषयमा टुंगो नलागेकाले सरकारमा सहभागी भएन ।

जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका छन् ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०७:४३