सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

सत्ताबाट फुस्किएपछि देउवालाई बेचैनी, ‘शपथ छाडेरै बाहिरिए’

सबै आगन्तुकहरु आ–आफ्नो कुर्सीबाट उठे । तर देउवा भने उठेनन् । सँगै बसेका प्रचण्ड शपथका लागि अघि बढ्दै गर्दा देउवाले भने उठ्न कुनै हतारो गरेनन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथग्रहण नसकिँदै उठेर हिँडेका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण कार्यक्रममा शीतलनिवास पुगेका देउवा बीचमै उठेर हिँडेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि अन्य सातजना मन्त्रीहरूको शपथ नसकिँदै देउवा उठेर हिँडेका हुन् । प्रचण्डलाई शपथ गराउनका लागि जब राष्ट्रपति विद्यादेवी भण्डारी तयार भइन् । सबै आगन्तुकहरु आ–आफ्नो कुर्सीबाट उठे । तर देउवा भने उठेनन् ।

सँगै बसेका प्रचण्ड शपथका लागि अघि बढ्दै गर्दा देउवाले भने उठ्न कुनै हतारो गरेनन् । गजधम्म बसिरहेका उनलाई सुरक्षाकर्मीले पटक पटक उठ्न आग्रह गरेपछि बल्ल शपथ गराउने क्रम चलिरहँदा उठेका थिए । प्रचण्डको शपथलगत्तै देउवा पुरा समय कार्यक्रममा नबसी राष्ट्रपति भवनबाट बाहिरिए ।

उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ चलिरहँदा बीचैमा देउवा बाहिरिएका कारण उनको कुर्सी खाली देखिन्थ्यो । अन्य विशिष्ट अथितिहरु पुरा समय शपथ ग्रहण कार्यक्रममा बस्दा कांग्रेस सभापति देउवा हतार हतार बाहिरिनुलाई कतिपयले आफ्नो हातबाट सत्ता फुस्किँदाको बेचैनी भएको बताए ।

देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि आइतबार कांग्रेस नेतृत्वको गठबन्धन विघटन भएको थियो भने एमालेसहितका सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । देउवाकै कारण सत्ता गुमेको भन्दै पार्टीभित्रैबाट उनको चर्को आलोचना भइरहेको छ ।

हिजो बिहानसम्म प्रचण्ड र देउवा पाँच दलीय गठबन्धनमा आबद्ध थिए भने आजबाट सत्ता र प्रतिपक्षी बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार अपरान्ह माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम थियो । कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासहित उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, कायम मुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीसहित पूर्व प्रधानमन्त्रीहरू र विशिष्ट अतिथिहरूको सहभागिता थियो ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १९:२६