सूचनाको शक्ति - The Power Of Information

        

नयाँ मन्त्रीमण्डल गठन

प्रचण्डले लिए शपथ, आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि गृहमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी थिइन् ।

राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । उनीहरुको प्रधानमन्त्री प्रचण्डलाई समर्थन रहेको छ ।

त्यस्तै स्वतन्त्र सांसदहरु प्रभु शाह, अमरेशकुमार सिंह र किरणकुमार साहको पनि प्रचण्डलाई समर्थन रहेको छ । प्रचण्ड तेस्रो पटक गणतान्त्रिक नेपालको प्रधानमन्त्री बनेका हुन् । कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाको सहमति नभएपछि एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

यसैबीच, नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ दिएका छन् । बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १६:४१