सूचनाको शक्ति - The Power Of Information

        

पुरुष भलिबलतर्फ नेपाल चौँथो स्थानमा

बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहँदै चौँथो स्थानमा रहेको छ ।

बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौँथो स्थानमा रहेको हो । खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो ।

नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौँथो सेटमा नेपाल विजयी भयो । नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो ।

खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफ्नो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो । यस जितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा छ । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता थियो । आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान भिड्नेछन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १४:०६