सूचनाको शक्ति - The Power Of Information

        

अध्यारै छन् गाउँहरु

नरैनापुरका गाउँमा भएन विद्युतीकरण, स्थानीय अध्याँरोमा बस्न बाध्य

नरैनापुरको दुर्गम बस्तीमा विद्युतीकरणका लागि प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमुना’को पहल ।

फाइल तस्वीर

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँ लगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

‘धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ,’ उनले भने । पालिकाको वडा नं ३ को रतैया, वडा नं १ को कटकुइँया, मझेरिटी लगायतका स्थानमा विद्युतको पहुँच छैन । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमुना’ले नरैनापुरको दुर्गम बस्तीमा विद्युतीकरणका लागि चासो देखाएर विद्युतीकरणको पहल गरेकी छन् ।

गाउँपालिका अध्यक्ष शाहको पहलमा प्रदेशसभा सदस्य केसीले आफ्नो चुनावी क्षेत्रका केही दुर्गम बस्तीमा देखिएको विद्युतको अभावबारे अनुगमन गरेर जानकारी लिएकी छन् । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख सुरज गौतमसहित प्राविधिक टोली विद्युत् नपुगेको बस्तीको अनुगमन गरी फर्किएको छ ।

गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको बनियाँ गाउँमा हालसम्म बिजुली नपुगेकाले तत्काल विद्युत् पुर्याउन प्राधिकरणका प्रमुख गौतमसँग आग्रह गरेकोसमेत जानकारी दिए । नरैनापुरमा थप विद्युत् विस्तारका लागि एक हजार ५०० खम्बा र उक्त खम्बामा लाग्ने तारको व्यवस्था गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १३:०४