सूचनाको शक्ति - The Power Of Information

        

नारायणकाजी श्रेष्ठ र विष्णु पौडेल उपप्रधानमन्त्री सिफारिस

नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव केहिबेरमा बस्ने गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयको टुंगो गठबन्धनको बैठकपछि लाग्ने बताए । यस्तै नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।

उनले उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । पौडेलले यसअघि पनि अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । सोमबार बालकोटमा बसेको एमाले पदाधिकारी बैठकले पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए । उनको शपथ आजै ४ बजे हुँदैछ । शपथलगत्तै उनले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १२:२६