आस्तिकहरु जीवनकालमा भोग्नुपर्ने दुःख र प्राप्त हुने लाभ जन्मदै निधारमा लेखिएको विश्वास गर्छन् । कसको निधारमा के लिएको हुन्छ त्यो त जीवनकालभर कसैले पनि देख्दैनन् । तर, पनि विश्वास गर्नेहरू गर्छन् । र, आस्तिकहरू भाग्यमा विश्वास गर्छन् । जीवन कालमा कसैले राम्रो सफलता पाए ‘भाग्यमानी रहेछ’ भन्छन्, कसैले केही प्राप्त गर्न नसके ‘अभागी रैछ’ भन्छन् ।
नास्तिकहरूले विश्वास गर्ने भौतिकवादको कुरा थोरै पर राखेर आस्तिकहरूकै विश्वासलाई नै आधार मान्ने हो भने वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेको निधारमा ‘उच्च ओहदा’ लेखिएकै रहेनछ ! त्यसो त रामचन्द्र भाग्यकै कुरा मानेर त्यतिकै जीवनकालको उर्वर समय व्यतीत गरेका व्यक्ति होइनन् । भौतिकवादीहरू झै रामचन्द्रले पनि राजनीतिमा श्रम र पसिना बगाएका छन् । तर, रामचन्द्रको हकमा आस्तिक र नास्तिक दुवैको फर्मुला काम लागेन ।
समकालीनमध्ये अथाह चाहना राख्दा पनि प्रधानमन्त्री बन्न नसकेका राजनीतिज्ञ हुन्, रामचन्द्र । जित्नै नसक्ने अवस्थामा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनायो र १७ पटक हरायो । यो भन्दा दुखान्त उनको राजनीतिक जीवनमा अरु छैन सायद । तर, अब थपियो । पार्टीभित्र गुट चलाए पनि बलियो बनाउन नसकेका रामचन्द्रले आशा भने मारेनन् । पार्टीको १४ औं महाधिवेशनमार्फत सभापति निर्वाचित हुँदै प्रधानमन्त्री बन्ने चाहनालाई निरन्तरता दिए । तर, त्यो पनि सम्भव भएन ।
अन्त्यमा प्रतिस्पर्धी शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिको सम्भावना र आशा बाँकी राखे । उमेर र राजनीतिक जीवनको उत्तरार्द्धमा पनि रामचन्द्र युवा जोससहित निर्वाचनमा होमिए । जिते पनि । परिणामले कांग्रेसलाई पहिलो पार्टी पनि बनायो । र, रामचन्द्रको राष्ट्रपति बन्ने चाहनामा थप आशा र सम्भावना बढ्यो । सरकार गठनको गन्थन सुरु भएदेखि नै रामचन्द्र सकारात्मक ऊर्जासहित सक्रिय भूमिकामा प्रस्तुत भए ।
उनलाई आशा थियो, ‘माओवादीले प्रधानमन्त्री पाउँदा कांग्रेसको भागमा राष्ट्रपति पर्छ र राष्ट्रपति हुन्छ ।’ रामचन्द्रको आशा र विश्वासमा समस्या थिएन । र, शतप्रतिशत जस्तै सम्भावना थियो । तर, जब परिस्थितिले प्रचण्डलाई बालुवाटारबाट बालकोट पुर्यायो तब रामचन्द्रको सपनामा पुनः एकपटक चिसो पानी खनियो । सिधा हिसाबमा अब निवर्तमान बनेको सत्ता गठबन्धनबीच लेनदेन हुँदा माओवादीले प्रधानमन्त्री पाए कांग्रेसले राष्ट्रपति पाउथ्यो । त्यस्तो अवस्थामा रामचन्द्र राष्ट्रपति हुन्थे । तर, समीकरण फेरियो ।
अब एमालेका अरु नै कोही राष्ट्रपति बन्ने छन् । सरकार गठनको गतिविधि सुरु भएसँगै देउवा र प्रचण्ड दुवैले प्रधानमन्त्री दावी गरे । त्यसपछि देउवा–प्रचण्ड मिलाउन रामचन्द्रले अदम्य प्रयास गरे । त्यसै क्रममा प्रचण्डबाट थप आशा पाए । प्रचण्डलाई तपाईँहरू मिल्नुस् भन्न पुगेका रामचन्द्रलाई प्रचण्डले ‘तपाईं राष्ट्रपति हुने हो म प्रधानमन्त्री’ भन्दै आशाको भारी बोकाएर पठाए । प्रचण्डले भने झै र रामचन्द्रले सोचे झै प्रचण्ड प्रधानमन्त्री र रामचन्द्र राष्ट्रपति सम्भव थियो ।
तर, देउवाको मनमा पुनः प्रधानमन्त्री बनेर राज गर्ने लालच पलाउँदा रामचन्द्रको सपना पुनः अलपत्र भयो । नेपाली राजनीति र कांग्रेसमा रामचन्द्र कमजोर नै भए पनि इमानजमान गुमाएका वा अरु जस्तो अरुबाट कुरा काटिने राजनीतिज्ञ होइनन् । चाहेजस्तो सफलता नपाए पनि निरन्तर लागिपर्ने इमानजमान भएका नेता मानिन्छन् । रामचन्द्र उमेर र अनुभवका दृष्टिमा पनि पाका हुन् । सम्भवतः आगामी निर्वाचनमा उम्मेदवार पनि बन्दैनन् । भोट माग्दै पनि ‘यो अन्तिम पटक हो’ भनिसकेका छन् ।
त्यसैले यसपटक जसरी पनि राष्ट्रपति बन्ने उनको चाहना थियो । रामचन्द्रले आफूलाई प्रधानमन्त्रीको रूपमा देख्न छोडिसके । किनकी, उनले प्रधानमन्त्री बन्न आन्तरिक शक्ति गुमाइसकेका छन् । यस्तो अवस्थामा आफ्नै बुतामा प्रधानमन्त्री सम्भव हुँदैन । त्यसैले, एकपटक राज्यलाई अभिभावकत्व प्रदान गरेर राजनीतिबाट बिदा हुने रामचन्द्रको अन्तिम चाहना थियो । उही कुरा, आस्तिकहरुको विश्वास झै रामचन्द्रको निधारमा ‘उच्च ओहदा’ लेखिएकै रहेनछ ! राष्ट्रपति बन्ने शतप्रतिशत सम्भावना भएर पनि सम्भव भएन । बाँकी दिनमा त झन के सम्भव होला र !
सत्यपाटी संवाददाता । काठमाडौं