सूचनाको शक्ति - The Power Of Information

        

एक घण्टामै बदलिएको सत्ता समीकरण

‘च्याँखे दाउ’ले एमालेलाई अनपेक्षित उपलब्धी, माओवादी ‘पावर’मा

पाँच वर्ष घाम ताप्दै बस्ने अवस्थामा पुगेको एमालेले अनपेक्षित उपलब्धि हात पार्यो । सबथोक भएर पनि गुमाउन पुगेको कांग्रेसले केही समय रुखको छहारीमा शीतल ताप्दै बस्नुपर्ने अवस्था बन्यो ।

आश्चर्यको कुरा होइन । राजनीतिमा यस्तो हुँदै आएको छ । एक घण्टामा सत्ता गठबन्धन फुट्यो र नयाँ गठबन्धन बन्यो । परिणाम स्वरुप तीन कुरा भयो ।

एक, पाँच वर्ष घाम ताप्दै बस्ने अवस्थामा पुगेको एमालेले अनपेक्षित उपलब्धि हात पार्यो । दुई, सबथोक भएर पनि गुमाउन पुगेको कांग्रेसले केही समय रुखको छहारीमा शीतल ताप्दै बस्नुपर्ने अवस्था बन्यो । हँसिया हथौंडाको पावर देखाएर माओवादीले गरिखाने भयो ।

सत्ता समीकरण परिवर्तन हुँदा भएको जम्मा यत्ति हो । यो भन्दा धेर केही भएको छैन । तर, यो सामान्य फेरबदल मात्र होइन । संसदीय राजनीतिमा सत्तामा हुनु र नहुनुको ठूलो अर्थ हुन्छ ।

कांग्रेसले दुई वर्षका लागि प्रधानमन्त्री मात्र छोडेको भए राष्ट्रपतिसहित संघीय मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीसहित थुप्रै पद पाउने थियो । र, थुप्रै संवैधानिक अङ्गहरूमा आरामसे भागशान्ति मिल्थ्यो । तर, कांग्रेसले त्यो स्वर्ण अवसर गुमाएको छ ।

कांग्रेसले सबथोक गुमाउनुका विभिन्न फ्याक्टरले काम गर्यो । पहिलो फ्याक्टर सभापति शेरबहादुर देउवाको अनन्त सत्तामोह हो । उनले दुई वर्ष मात्र पर्खने हिम्मत गरेको भए यस्तो हुने थिएन ।

देश निर्वाचनमा होमिँदै गर्दा देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने र पहिलो कार्यकालमा प्रचण्ड प्रधानमन्त्री हुने सहमति भएको थियो । त्यो, सहमति साता दिन अघि मात्र पनि देउवा–प्रचण्डबीच ताजकी भएको थियो ।

निवर्तमान बनेको सत्ता गठबन्धनको अन्तिम बैठकमा प्रचण्डले उक्त कुरा खुलाए । देउवा जवाफविहीन बने । सुरुमा प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउन तयार भएका देउवा अन्तिम अवस्थामा आफै प्रधानमन्त्री बन्ने निर्णयमा पुगे ।

देउवाको सोही मोहले आज कांग्रेस सम्भवत पाँच वर्ष रुखको शीतल ताप्ने ठाउँमा पुर्यायो । कांग्रेसलाई यो अवस्थामा पुर्याउन शेखर कोइराला र गगन थापाहरूको फ्याक्टरले पनि ठूलो काम गर्यो ।

देउवालाई जसरी पनि कमजोर बनाउने खेलमा लागेका शेखर–गगनले देउवालाई प्रधानमन्त्री नछोड्न अनेक दबाब र आफ्नै नेतृत्वमा सरकार बन्ने अनेक स्वप्न देखाए । सोही दबाब र स्वप्नमा देउवाले प्रधानमन्त्री छाडेनन् ।

०००

एमाले अध्यक्ष केपी शर्मा ओलीकै भाषामा भन्ने हो, एमाले यसपटक ‘च्याँखे दाउ’मा थियो । च्याँखे दाउमा पनि अनपेक्षित हातपार्यो । कांग्रेस–माओवादी मिल्दा संघ र प्रदेश दुबै सरकारमा शून्य उपस्थिति हुने कुरा बुझेको एमालेले प्राप्त गर्ने केही थिएन ।

तर, कांग्रेस–माओवादी छुटे धेरै प्राप्त हुने बुझेको थियो । त्यसैले एमालेले आशा मारेको थिएन । ओलीले प्रचण्डको चाहना राम्ररी बुझेका थिए । र, भावी प्रधानमन्त्री भनेर भोट मागेका ओलीले तत्कालका लागि प्रधामन्त्री जुवा हानेर धेरै लिने नीति अवलम्बन गरे ।

सायद, देउवाले ओलीको खेल बुझेनन् । पछिल्लो समीकरणअनुसार अब एमालेले राष्ट्रपतिसहित सभामुख, केही संघीय मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश मन्त्रीहरू पाउने निश्चित भयो ।

कांग्रेस–माओवादीको सरकार बन्दा कांग्रेसले पाउने जति नपाए पनि एमालेले अब सबै तहको सरकारमा बलियोसँग उपस्थिति जनाउने छ ।

०००

तेस्रो र निर्णायक शक्ति माओवादीको दुबै हातमा लड्डु थियो । किनकी, कांग्रेस–एमाले नमिलेसम्म कांग्रेस वा एमाले जसले सरकार बनाए पनि माओवादी बिना सम्भव थिएन ।

माओवादीले आफू निर्णायक शक्तिको रुपमा पाएपछि सोही अनुसार मूभ गर्यो । कांग्रेसले प्रधानमन्त्री नदिने भएपछि एमालेसँग मिलेर लियो । बाँकी भागबन्डामा पनि माओवादीलाई राम्रै भागशान्ति मिल्ने पक्का छ ।

निर्वाचनअघिको सम्झना

निर्वाचनको पूर्वसन्ध्यामा प्रचण्डले गोरखाबाट भनेका थिए, हामी तेस्रो तर निर्णायक शक्ति बन्छौँ । त्यतिबेला ओलीले खिल्ली उडाए, देउवाले अर्थ नै बुझेनन् सायद ।

जनमतले माओवादीलाई प्रचण्डले भने जस्तै ‘तेस्रो र निर्णायक’ बनायो । त्यो आज प्रमाणित भयो । मध्यावधि नभए पाँच वर्ष यसरी नै माओवादी निर्णायक नै रहन्छ ।

माओवादी निर्णायक शक्ति हो भन्ने देउवाले बुझेको भए यत्तिखेर प्रचण्डलाई प्रधानमन्त्रीको बनाउने स्तावकको भूमिकामा ओलीको ठाउँमा देउवा हुन्थे । प्रचण्डको भनाइ ओलीले राम्ररी बुझेका थिए ।

त्यसैले, विभिन्न माध्यमबाट ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार छौं’ भनिरहे । आखिर भयो त्यै । निर्वाचनअघि देउवा बारम्बार भन्थे, एमाले–माओवादी मिले ०७४ को अवस्थामा पुर्याउँछन् । र, भयो त्यस्तै ।

आज दुई वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्दा कांग्रेसले सबथोक गुमाउन पुगेको छ । जसरी, ०७४ को आमनिर्वाचनमा एमाले–माओवादी एक हुँदा कांग्रेसले सबथोक गुमाउनु परेको थियो ।

प्रकाशित मिति : १० पुष २०७९, आइतवार १८:५१