सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डलाई ३ स्वतन्त्रसहित १ सय ६९ जना सांसदकाे समर्थन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो । उहाँलाई तीन स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थन छ ।

जसमा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।

राष्ट्रपति भण्डारीलाई पेस गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दलका नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गर्नुभएको छ ।

 यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

यसैगरी स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा. अमरेशकुमार सिंहले पनि समर्थन गर्नुभएको छ ।

प्रकाशित मिति : १० पुष २०७९, आइतवार १८:३२