नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको छ ।
राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरिएको छ भने शपथको तयारी भोलि हुँदैछ । नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलका १६६ सांसदको समर्थन रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति निवास पुगेको थियो ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको समय सीमाभित्रै दलका नेताहरू शीतलनिवास पुगेका थिए ।


सत्यपाटी संवाददाता । काठमाडौं