सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धन टुटेपछि नेकपा एस अलमलमा, सरकारमा सहभागी हुँदै जसपा

सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा देखिएको छ । एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा देखिएको हो ।

अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो । बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय भएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ भने थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बनेको छैन । माओवादीसँगै समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।

यता सरकारमा जाने निर्णयलगत्तै समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति निवास पुगेका छन् । काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यको बैठकले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

सो बैठकपछि अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई दुवै जना राष्ट्रपति कार्यालय गएको पार्टी स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयबाट फर्केपछि बैठक पुनः बस्ने जसपाका एक नेताले बताए । बैठकका लागि कार्यकारिणी सदस्यहरु अहिले पार्टी कार्यालयमा नै छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आइतवार १७:४३