सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रचण्ड प्रधानमन्त्री नियुक्त, आजै शपथ

प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन छ । जसमा १६६ सांसदको समर्थन रहेको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको समय सीमा आजै साँझ पाँच बजे सकिएको छ ।

नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो । ओली निवास बालकोटमा प्रचण्ड, ओली लगायतका नेताहरुबीच भएको छलफलपछि राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलहरुबीच सहमति जुटेको थियोे ।

उक्त छलफलमा साना दलहरुले समर्थन जनाउने र बहुमत जुट्ने प्रष्ट भएपछि प्रचण्ड र ओली सोही बैठकको निर्णयअनुसार बहुमतको दाबीका साथ शीतल निवास पुगेका थिए । राष्ट्रपतिले दिएको समय सीमाभित्रै दलका नेताहरू शीतलनिवास पुगेका थिए ।

प्रकाशित मिति : १० पुष २०७९, आइतवार १७:३५