सूचनाको शक्ति - The Power Of Information

        

दोस्रो प्रतिनिधि सभाको उल्लास

संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराएका हुन् । शपथ लिँदै गर्दा उनीहरूमा भिन्न जोस र जाँगर देखियो ।

जनताले पाँच वर्षका लागि चुनेर पठाएका उनीहरूमा विशेष जिम्मेवारी बोधसमेत महसुस भएको देखियो । यद्यपि, आगामी पाँच वर्षसम्म देश र जनताको भलाइ र उत्थानमा खेल्ने भूमिकाले उनीहरूको जिम्मेवारीबोध मापन गर्ने नै छ ।

उनीहरू गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका हुन् । २०७२ मा नयाँ संविधान जारी भएपछिको यो दोस्रोपटक निर्वाचित भएर आएका जनप्रतिनिधि रहने प्रतिनिधिसभा हो ।

शपथग्रहणमा उनीहरूले राष्ट्रिय तथा सांस्कृतिक पोसाक लगाएका थिए । प्रतिनिधिसभाको कुल २ सय ७५ मध्ये २ सय ७१ सांसदले बिहीबार शपथ लिएका हुन् ।

संसद् सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका रामकुमार राई, महिन्द्र राय यादव, नेकपा एकीकृत समाजवादीका प्रेम आले र नेपाली कांग्रेसकी माया राईले भने शपथ लिएका छैनन् ।

आले मातृशोकमा छन् भने कांग्रेसकी राई केही दिनअघि सुत्केरी भएका कारण शपथ ग्रहणमा सहभागी हुन सकेनन् । १४ सांसदले भने मातृभाषामा शपथ लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ‘थप शपथपत्र’मा हस्ताक्षर गरेर संसद् सचिवालयमा रेकर्डका लागि बुझाएका छन् । ‘थप शपथ’मा उनले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो’ भन्ने व्यहोरा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार ०७:५४