विश्वकप फाइनलमा ह्याट्रिक गरेर पनि पराजित फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा निर्माण गरिएको यो ‘टिकटक’ सायरी क्षणभरमै भाइरल बन्यो। यस पटकको विश्वकपमा सर्वाधिक ८ गोल गरेर गोल्डेनबुट जितेका एम्बाप्पेको आकर्षक खेलका कारण उनको चर्चा विश्वकप र गोल्डेन बल जितेका अर्जेन्टिनाका महसु र खेलाडी मेसीको भन्दा बढी देखिन्छ।
यस पटकको विश्वकप सकिएको छ। तर यो सायरीको मूलमर्म नेपाली राजनीतिको परिपे्रक्ष्यमा अझै सकिएको छैन। विश्वकप सम्बन्धित यो सायरी नेपाली राजनीतिसँग अझ भनौँ, नेपाली कांग्रेसको राजनीतिसँग जोडेर हेर्दा झनै सार्थक देखिन्छ। संघीय निर्वाचनमा डडेलधुरामा शेरबहादुर देउवासँग पराजिता युवा उम्मेदवार सागर ढकालको पराजयको चर्चा पनि देउवाको जित भन्दा बढी देखिएको थियो। दूरदराजमा पुगेर राजनीतिका खतर्नाक खेलाडीलाई टक्कर दिने सागर साहसले पराजितका बाबजुद भरमार चर्चा बटुलेको थियो।
बुधबारमात्रै नेपाली कांग्रेस संसदीय दलको चुनावमा पार्टी सभापति देउवासँग पराजित नेपाली कांग्रेसका युवा उम्मेदवार गगन थापाको अवस्था पनि यही सायरीसँग मिल्दो देखिन्छ। कांग्रेसभित्र मात्रै हैन, आमनेपालीको तर्फबाट आशा गरिएका थापाको पराजयको चर्चा आधादर्जन पटक प्रधानमन्त्री बन्न लागेका देउवाको विजयभन्दा बढी देखिन्छ। परिवर्तनको संघारमा पुगेको कांग्रेसमा देउवा कसरी विजयी भएभन्दापनि युवा जमातका आशाका केन्द्र गगन कसरी पराजित भए भन्नेमा बढी चर्चा चलेको छ।
पार्टी सभापतिविरुद्ध थापाले उम्मेदवारी दिँदा उनको प्रस्तावकमा डा। शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहेका थिए। त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि थापाको समर्थकका रूपमा रहेका कारण थुप्रैले गगन विजयको आशा पनि गरेका थिए। तर बुधबार बिहान भएको मतदानमा ६४ जना सांसदको समर्थन पाएर देउवा विजयी हुँदा थापाले जम्मा २५ मत पाए।
विश्वकप फुटबल र आमचुनाव एकैपटक भएको यो समयमा कतिपयले संघीय चुनावमा लगातार तीन पटक जितेर ह्याट्रिक गरेका गगनको तुलना एम्बाप्पेसँग गरेका थिए। विश्वकप चलिरहँदा मंसिर दोस्रो साता ललितपुर साना गाउँकी सिर्जना श्रेष्ठले गगन थापा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेजस्तो लाग्ने बताएकी थिइन्। ‘एम्बाप्पे फुटबलका नयाँ सम्भावना हुन्’, उनले भनेकी थिइन्– ‘त्यस्तै गगन थापा राजनीतिका नयाँ आशा हुन्। जसरी एम्बाप्पे खेलको क्षेत्रमा नयाँ पिँढीका आदर्श हुन्, त्यसैगरी गगन नेपाली राजनीतिमा नयाँ पिँढीका भरोसाका केन्द्र हुन्।’
सत्यपाटी संवाददाता । काठमाडौँ