सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधन

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठक कंग्रेसलाई सम्बोधन गर्दै आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्ने बताउनुभयो ।

रुसलाई आतंककारीको संज्ञा दिंदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एक ढिक्का हुनेछ भन्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।

त्यसअघि ह्वाइटहाउमा राष्ट्रपति बाइडेनसँग भएको वार्तामा जेलेन्स्कीले शान्तिका लागि देशको सिमाना गुमाउन नसक्ने बताउनुभएको थियो ।

देशको सिमाना गुमाएर शान्तिका लागि सम्झौता गर्न नसक्ने उहाँको भनाइ थियो । वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई आवश्यक थप सहयोग घोषणा गर्दै उच्च प्रविधियुक्त प्याट्रिएट रक्षा प्रणाली पनि उपलब्ध गराउने घोषणा गर्नुभयो ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ०८:३४