सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनका राष्ट्रपति जेलेन्स्की आज अमेरिका भ्रमणमा जाँदै

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की आज (बुधबार) अमेरिका भ्रमणमा जानुहुने भएको छ ।

भ्रमणको क्रममा वासिङटन पुग्नु हुने जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । यसका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कांग्रेसका सदस्यहरुलाई उपस्थिति जनाउन अपील गर्नुभएको छ । भ्रमणकै क्रमा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेट्न सक्ने सम्भावना रहेको छ ।

रुससाग युद्ध सुरु भएयता जेलेन्स्कीको यो पहिलो विदेश भ्रमण हुने भएकाे छ । यसअघि जेलेन्स्कीले युक्रेनको राजधानी कीभमै बसेर विदेशी नेताहरुसँग प्रत्यक्ष, टेलिफोन र अन्य भर्चुएल माध्यमबाट संवाद गर्दै आउनुभएको थियो । उहाँको यो भ्रमणले युद्धकाबीच अमेरिकाले खेलेको सहयोगी भूमिकाको प्रशंसा हुने निश्चित भएकाे छ ।

जारी युद्धकाबीच अमेरिकाले युक्रेनलाई १८ अर्ब ५० करोड बराबरको सैन्य सहायता उपलब्ध गराइसकेकाे छ । यसैगरी जर्मनीले २ अर्ब३ करोड बराबरको सैन्य सामग्रीहरू युक्रेन पठाइसकेको छ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार ०७:५४