सूचनाको शक्ति - The Power Of Information

        

नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द

कहाँ-कहाँ रोकिन्छन् गाडी ?

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

आजदेखि एक महिनासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडीको आवागमन रोकिने छ । सडक खण्डमा पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले गाडीको आवागमन रोक्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोलामा पुल बनाउनका लागि पहाड काट्नेलगायतका काम हुनेछ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनिबस, माइक्रो लगायत साना गाडीलाई १५ किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने छ ।

मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत ठूला गाडी भने भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि  रोकिने छन् ।

काठमाण्डाैबाट छुटेका गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट छुटेका गाडीलाई बेनीटारदेखि पावर हाउससम्म रोकिने छ ।

यस्तै, काठमाण्डाैबाट छुटेका मालवाहक गाडीलाई लेबाटारमा र पोखराबाट छुटेका मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान पौने ११ बजे रोकिने छ ।

बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरी चलाउन दिइने छ । सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा २० पुल रहेका छन् । तीमध्ये पाँच पुल बनिसकेका छन् । बाँकी पुल बन्ने चरणमा रहेका छन् । आउँदो असारसम्ममा १० वटा पुल निर्माण सक्ने गरी कामअघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो ।

२०७६ साल चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । आउँदो ९ गते सम्झौताको अवधि सकिँदै छ । विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार ०७:५२