सूचनाको शक्ति - The Power Of Information

        

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि फेरि दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

जापानको रक्षा मन्त्रालयले ती क्षेप्यास्त्र झन्डै पाँच सय किलोमिटरको उचाइमा पुगेकाे बताएको छ । जापानका वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले लगातारको क्षेप्यास्त्र परीक्षणले जापानसहित कोरिया प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति–सुरक्षालाई खतरामा पार्ने भएकोले यो अस्वीकार्य भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

उत्तर कोरियाले गएको महिना पनि अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणसहित अरू हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव बढेको छ ।

उत्तर कोरियाका नेता किम जोन उनले उत्तर कोरियासँग विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति होस् भन्ने चाहका साथ आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको शस्त्रागार अर्थात् हतियार राख्ने ठाउँ निर्माण गरेको छ ।

प्रकाशित मिति : ३ पुष २०७९, आइतवार १८:५४