सूचनाको शक्ति - The Power Of Information

        

प्रेस चौतारी बाँकेले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

प्रेस चौतारी नेपाल बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०७७ चैत २० गतेको परिपत्र अनुसार सदस्यता प्राप्त गरेका (चौबिस जना सदस्य र तीन जना पुरानो नविकरण) सदस्यलाई नविकरण गर्नबाट बन्चित गरिएको र लुम्बिनी प्रदेश समितिको सिफारिसका नाममा केन्द्रीय समितिले बाँके लगायतका जिल्लामा जबर्जस्ती सदस्य स्थानान्तरण गरेको बिषयमा गम्भीर ध्यानाकर्षण गराएको छ ।

चौतारी अध्यक्ष दुर्गा रोकाय नेतृत्वको टोलीले आईतवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै तत्कालिन अबस्थामा ‘केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन सम्पन्न भएपश्चात कायम हुने गरी सदस्यता अभिलेखीकरण गरिएको’ उल्लेख गरेर ‘सदस्यता नविकरण गर्नु’ भन्दै केन्द्रले नै सदस्यता दिएका सदस्यलाई हालसम्म पनि बिभिन्न बाहना बनाएर नविकरण गर्नबाट बन्चित गरिएको अबस्था रहेको जनाएको छ ।

‘कायम सदस्यलाई नविकरण गर्न बन्चित गरेको महासंघले लुम्बिनी प्रदेश समितिको सिफारिसका नाममा केन्द्रीय समितिले बाँके लगायतका जिल्लामा सदस्यता स्थानान्तरण गरेर महासंघले आफनै सदस्यका हकमा दोहोरो चरित्र देखाएको र बिभेद गरेको हाम्रो ठहर छ ।’

ज्ञापनपत्रमा भनिएको छ–‘ स्थानान्तरण गरिएका सदस्यहरु पत्रकारितामा सक्रिय नभई ‘अमुख नेताका श्रीमती, भाईबहिनी, बुहारी, सालासाली, बिशुद्ध व्यापारी तथा शिक्षक शिक्षिका’ रहेका भनि बाँकेका पत्रकारहरुले गरेको सार्वजनिक टिप्पणी र नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले सार्वजनिक गरेको यसै आशयको बिज्ञप्तीले चिन्तित र गम्भीर बनाएको छ ।’

पछिल्लो सयम गैरपत्रकारलाई काठमाण्डौंमा प्रतिष्ठान शाखाका नाममा एकमुष्ट रुपमा सदस्यता दिलाउने र ती सदस्यलाई एकमुष्ट रुपमै जिल्ला—जिल्लामा नियोजितरुपमा स्थानान्तरण गर्ने गरिएको पाइएको चौतारीले जनाएको छ ।

महासंघमा गैरपत्रकार सदस्यको संख्या बढाउने र जिल्लाको अस्तित्व नामेट बनाइ जिल्ला शाखालाई ‘भोट बैंक’का रुपमा रुपान्तरण गर्ने यस्तो षडयन्त्र रोक्नुपर्नेमा त्यसलाई प्रोत्साहन गर्ने प्रदेश र केन्द्रीय समितिको कदम निन्दनीय भएको भन्दै यस्ता कार्य समयमै रोक्नतर्फ सचेत र सजग बन्न नेपाल पत्रकार महासंघ र पत्रकारिताक्षेत्रका अग्रज, सहकर्मी एवं बिभिन्न आस्थागत संगठनलाई प्रेस चौतारी बाँकेले अपील गरेको छ ।

शाखालाई ‘भोट बैंक’ बनाउने नियोजित रणनीति अन्तर्गत गरिएको सदस्य स्थानान्तरण तत्काल खारेज गर्न र जथाभावी सदस्यता बितरण गर्ने कार्यमा संलग्न प्रतिष्ठान शाखालाई छानबिनको दायरामा ल्याउनुका साथै तत्कालिन अवस्थामा सदस्यता प्राप्त गरेका सदस्यलाई तत्काल नविकरण गर्न जोडदार माग गर्दै अन्यथा, प्रेस चौतारी नेपाल बाँके चरणवद्ध रुपमा आन्दोलन गर्न वाध्य हुने समेत ज्ञापनपत्रमा उल्लेख छ ।

चौतारीले महासंघ बाँके मार्फत नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई ध्यानार्कषण गराइएको छ ।

चौतारी अध्यक्ष रोकाय नेतृत्वको ज्ञापनपत्र बुझाउने टोलीमा चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य भेषराज बस्नेत, केन्द्रीय सदस्य शकिल अहमद कादरी, प्रदेश कमिटी सदस्य खम्बप्रसाद पुन, जिल्ला सह–सचिव भगतराम थारु, सदस्य आशा परियार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ पुष २०७९, आइतवार १८:४१