सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप फुटबल : क्रोएसियालाई दोस्रोपटक तेस्रो स्थान

क्रोएसियाले विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो ।

शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।

मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

क्रोएसियाले यसअघि सन् १९९८ को विश्शवकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो ।​

​मोरक्कोले भने पहिलोपटक तेस्रो स्थानका लागि खेलेको हो । पहिलोपटक सेमिफाइनल पुग्ने अफ्रिकी टोलीको इतिहास रचेको मोरक्को फ्रान्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३ पुष २०७९, आइतवार ०९:१५