सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा आत्महत्या दर विकराल

कर्णालीमा ११९ जना बालबालिकाले गरे आत्महत्या

बालकको तुलनामा आत्महत्या गर्नेमा बालिकाको सङ्ख्या बढी छ ।

कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर बिकराल रहेका देखिन्छ । कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका ११९ जना बालबालिकाले आत्महत्या गरेका छन् ।

जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् । आर्थिक वर्ष २०७६–०७७ मा ३५ जना, आर्थिक वर्ष २०७७–०७८ मा ४१ र २०७८ ०७९ मा ३५ र चालू आर्थिक वर्ष २०७९–०८० को हालसम्म आठ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठ अनुसार बालबालिकामा अत्महत्या दर डरलाग्दो भएकाले यसको न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने छ । यसतर्फ अभिभावक र सरोकारवाला सचेत रहनु पर्नेमा जोड रहेको छ ।

बालबालिकामा आत्महत्या बढ्नुको कारण सामाजिक सञ्जाल, लागूऔषध दुव्यर्सनी , पारिवारिक कलह, कतिपय चाहेको कुरासमेत नपाउँदा आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको मनोविमर्शकर्ता बताउँछन् ।

आवाज संस्थाका अनुसार बालबालिकामा उमेर बढ्दै जाँदा शारीरिकसँगै मानसिक रूपमा पनि सोच परिवर्तन हुँदै जान्छ । यसको सकारात्मक र नकारात्मक प्रभावले सही गलत छुट्टाउन नसक्दा र आफ्ना कुरा अरूसमक्ष राख्न नसक्दा आत्महत्या रोज्ने गरेको पाइएको छ ।

बालबालिकामा पारिवारिक अवस्थाले पनि असर गरेको, बालबालिकाले आफ्ना कुरा भन्न नपाउँदा, बुझ्ने र संरक्षण गर्ने अभिभावक नहुँदा आत्महत्याको बाटो रोज्ने गरेको पनि अर्को कारण रहेको छ । विद्यालयमा बालबालिकाका कुरा सुन्ने, समस्या पहिचान गरेर मनका कुरा राख्ने गोप्य र सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने तर्फ पनि सचेत हुनुपर्ने भएको छ ।

आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । बालकको तुलनामा पनि आत्महत्या गर्नेमा बालिकाको सङ्ख्या बढी छ । प्रहरीको तथ्यांक अनुसार तीन वर्षको अवधिमा ५१ जना बालकले आत्महत्या गर्दा ६८ जना बालिकाले आत्महत्या गरेका छन् । प्रत्येक वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्ने बालकको भन्दा बालिकाको सङ्ख्या बढिरहेको छ ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १६:४६