हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ । नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो ।
तीन दिन अगाडिदेखि नेपालगन्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पत्ती नेपालगन्ज झर्न लागेको हो । उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट पाउन नसकिएको उनको भनाइ छ ।
उनीजस्ता यात्रु २०० भन्दा बढी छन् । समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले नेपालगन्जमा तीन चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुलाई टिकटको समस्या भएको हो ।
बिहीबार नेपालगन्जमा लागेको हुस्सुको कारण सिमकोटका लागि कुनै उडान हुन सकेको थिएन । शुक्रबार पनि ढिलो गरेर तारा र समिटले एक–एक उडान भरेका थिए । हुम्लामा चिसो हुने हुँदा माथिल्लो हुम्लाका स्थानीय तराईमा जाडो छल्न जाने गर्छन् ।
सत्यपाटी संवाददाता । हुम्ला