सूचनाको शक्ति - The Power Of Information

        

कति हुन्छ विश्वकप विजेताको पुरस्कार रकम ?

कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ । यता फ्रान्स पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ ।

विश्व फुटबलकै महाकुम्भको विजेता टोलीले कति पुरस्कार पाउँछ भन्ने चर्चा हुन्छ ।  विश्वकपमा विजेता टोलीसँगै अन्य टोलीले पनि पुरस्कार पाउँछन् ।

विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउँछ । कतारमा विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछ ।

सन् २०१८ मा फ्रान्सले पाएको विश्वकपको पुरस्कारभन्दा ४ मिलियन धेरै हो । अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाब गर्दा नेपाल राष्ट्र बैंकअनुसार शनिबारको अमेरिकी डलरको बिक्री मूल्य अनुसार करिब ५ अर्ब ५६ करोड ६१ लाख ४६ हजार ६०० हुन्छ ।

यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात् नेपाली रकम ३ अर्ब ९७ करोड ५८ लाख १९ हजार पाउने छ । तेस्रो हुने टिमले २७ मिलियन अर्थात् ३ अर्ब ५७ करोड ८२ लाख ६० हजार पाउँदा चौथो हुने टिमले २५ मिलियन अर्थात् ३ अर्ब ३१ करोड ३१ लख ८२ हजार ५०० रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १०:०९