सूचनाको शक्ति - The Power Of Information

        

सातै प्रदेशका प्रमुखलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई आज शनिबार बुझाउने भएको छ ।

शनिबार आयोगका पदाधिकारीहरुले दिउँसो १ बजे सम्बन्धित प्रदेशका प्रमुखलाई भेटेर प्रतिवेदन बुझाउने भएको हो । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ को चुनावी परिणाम पेश गर्नु हुनेछ । यस्तै, आयुक्त सगुनशमशेर जबराले मधेश प्रदेश र सचिव गोकर्णमणि दुवाडी बागमती प्रदेशको चुनावी परिणाम पेश गर्नेछन् ।

यसैगरी, गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी, कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने छन् ।

आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ । आयोगको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

आयोगले बुधबार प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो ।

आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेको छ । यसैगरी बिहीबार नै उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि छुट्टाछुट्टै प्रतिवेदन आयोगले बुझाएको थियो ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार ०९:५९