सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ५३८ जना एचआइभी सङ्क्रमितको नियमित उपचार

एचआइभी एड्सबाट सङ्क्रमित भएका बाँकेका ५३८ जनाले नेपालगन्जस्थित भेरी अस्पतालमा नियमित उपचार गराइरहेका छन् । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार जिल्लामा ५३८ जना सङ्क्रमितहरूले एआरटी उपचार गराइरहेका छन् ।

भेरी अस्पतालबाट उनीहरूले सो सेवा लिइरहेको कार्यालयका फोकल पर्सन मानबहादुर नेपालीका बताए । सुरुवातदेखि भेरी अस्पतालमा एआरटी उपचार लिनेहरू एक हजार ५१६ जना रहेकोमा ती मध्ये बाँकेका मात्रै ५३८ जना रहेको फोकल पर्सन नेपालीले बताए ।

आर्थिक वर्ष २०७६–०७७ मा कुल छ हजार २०० जनाको परीक्षण गर्दा ११६ जना, २०७७–०७८ मा नौ हजार ५७६ जनाको परीक्षण गर्दा ११७ जना, २०७८–०७९ मा ११ हजार ७५४ जनाको परीक्षण गर्दा १५७ जनामा एचआइभी पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बाँकेमा हालसम्म एचआइभी एड्सबाट १७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही उपचारका क्रममा रहेका अन्य जिल्लाका सङ्क्रमित रहेका छन् । सरकारले २०३० सम्ममा एचआइभी–एड्सको महामारीलाई अन्त्य गर्ने अर्थात् शून्य नयाँ एचआइभी सङ्क्रमण, शून्य एड्स सम्बन्धित मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभावको लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १७:३४