सूचनाको शक्ति - The Power Of Information

        

थारु र मुस्लिमलाई मधेशी सूचीबाट हटाइयो

मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । सरोकारवाला संवैधानिक आयोगहरुकै आग्रहमा सूचीबाट हटाएको मधेशी आयोगले जनाएको छ । मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखिएको थियो ।

सोही आधारमा मधेशी आयोगले मुस्लिम र थारु समुदायलाई मधेशीको रुपमा परिभाषित गर्न सरकारलाई सिफारिस गरेको थियो । तर, थारु र मुस्लिम आयोगले ‘हामी मधेशी होइनौं’ भन्दै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएपछि सूचीबाट हटाइएको आयोगको भनाइ छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरिएको थियो । उक्त सिफारिस सार्वजनिक भएपछि थारु र मुस्लिम समुदायले विरोध जनाएका थिए ।

त्यसबेला थारु र मुस्लिम आयोगका अध्यक्षसहितका पदाधिकारीले सार्वजनिक रुपमा थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता भएको र मधेशी समुदायसँग मेल नखाने भएकाले मधेशीको सूचीमा राख्नु गलत भएको भन्दै वक्तव्य जारी गरेका थिए ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १२:४७