चिसोका कारण निमोनिया लाग्छ भन्ने धेरैको बुझाइ छ । यद्यपि चिसोका कारण निमोनिया नलाग्ने छाती रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार फोक्सोमा संक्रमण भएर निमोनिया रोग लाग्छ । फोक्सोमा अक्सिजन सप्लाइ कमी भएपछि निमोनिया लाग्छ ।
जाडो मौसममा धुवाँ, धुलोले तथा मौसम सुक्खा हुँदा, मद्यपान, धुम्रपानका कारण श्वासप्रश्वासका माध्यमबाट फोक्सोमा असर गर्छ । चिकित्सकहरुका अनुसार अक्सिजनभन्दा कार्बनडाइअक्साइडको मात्रा बढी हुँदा निमोनिया बनाउन सहयोग गर्छ ।
निमोनियाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी सताउने गर्छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका छाती रोग विशेषज्ञ डाक्टर निरज बमका अनुसार फोक्सोमा भाइरस, ब्याक्टेरिया, फङ्गस संक्रमणका कारण निमोनिया हुन्छ ।
यस्तै, मिर्गौला, कलेजो, मुटु, मधुमेहका रोगी, पक्षघात जस्ता रोगीलाई निमोनिया बनाउने भाइरसले आक्रमण गर्छ । दीर्घरोगीलाई पनि निमोनियाको संक्रमण हुन सक्छ । डा. बमका अनुसार निमोनिया मुख्यतया पाँच तरिकाबाट लाग्ने गर्छ ।
१. समुदायमा हुने निमोनिया – धुम्रपान, मद्यपान गर्दा, दीर्घरोगी तथा बालबालिकालाई निमोनियाले संक्रमण गर्छ । धुवाँ, धुलोका कारण तथा खानपान र शारीरिक सक्रियता कम हुँदा पनि निमोनिया संक्रमण हुने गर्छ ।
२. अस्पतालमा हुने निमोनिया – अस्पतालमा भर्ना भएका बिरामीलाई पनि निमोनिया हुन सक्छ । अन्य रोगको उपचार गर्न अस्पताल पुगेका बिरामीलाई पनि निमोनियाको भाइरसको संक्रमण हुन सक्छ । जस्तै, मधुमेह, पक्षघात, डाइलोसिस गर्न अस्पताल पुग्नेलाई निमोनिया हुन सक्छ । अस्पतालमा विभिन्न किसिमका भाइरस हुन्छन् । जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई निमोनियाको भाइरसले पनि आक्रमण गर्न सक्छ ।
३. भेन्टिलेटर एसोसिएट निमोनिया – भेन्टिलेटरमा बसेकालाई भेन्टिलेटर एसोसिएट निमोनिया हुन्छ । भेन्टिलेटरमा बसेका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक किसिमको निमोनिया हुन सक्छ ।
४. एक्सप्रेसन निमोनिया – कमजोर प्रतिरोधात्मक क्षमता भएकालाई यो निमोनिया हुन्छ । अस्पताल तथा घरमा भएका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका लगायतमा निमोनिया देखिन्छ ।
५. केमिकल निमोनिया – विभिन्न किसिमका केमिकलका कारण पनि निमोनिया हुन्छ । यस्ता बिरामीलाई निमोनियाले आक्रमण गर्छ ब्याक्टेरिया, भाइरस, फङ्गस, ढुसी स्वास नलीबाट प्रवेश गरी फोक्सोमा आक्रमण गर्छ ।
त्यस्तो अवस्थामा खोकी लाग्ने, ज्वरो आउने, छाती घ्यारघ्यार हुने, खकारबाट रगत आउने, ज्वरो आउने, अक्सिजन घट्ने, खकार पहेलो भएमा तुरुन्त अस्पताल जानुपर्छ । विशेषगरी दीर्घरोगी, अशक्त जस्तै, क्यान्सर थेरापी गरेका बिरामी, मधुमेहको उपचार गराइराखेका, मिर्गौलाको डाइलोसिस गरिरहेका र कलेजोका बिरामीलाई यस्तो लक्षण देखिएमा उनीहरुलाई तत्काल अस्पताल लैजानुपर्छ ।
निमोनियमा मृत्युको प्रमुख कारण हो । कोभिड–१९ महामारीमा निमोनियाकै कारण धेरैको ज्यान गएको थियो । यस्तै, डेंगु संक्रमितलाई खोकी लाग्ने, ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिएर निमोनिया कै कारण पनि बिरामीको मृत्यु भएको थियो ।
डेंगु भई ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बिरामीलाई निमोनिया हुँदा राम्रोसँग फोक्सोले काम नगर्दा अक्सिजनको कमीको कारण भेन्टिलेटरमा राख्नुपर्ने स्थिति सिर्जना भएको चिकित्सकहरु सुनाउँछन् । डेंगुका कारण मृत्यु हुनुुको प्रमुख कारण पनि निमोनिया नै भएको चिकित्सकको भनाइ छ ।
एकपटक निमोनिया भएकालाई फेरि हुन्छ ?
फोक्सोमा ठूलो दाग छ भने स्वस्थ हुँदैन । त्यस्तो अवस्थामा पर्याप्त मात्रामा फोक्सोमा अक्सिजन सर्कुलेसन हुँदैन । फोक्सोमा अक्सिजन नपुग्दा ब्याक्टेरिया भाइरस, फङ्गस उम्रने मौका पाउँछ । अँध्यारो कोठामा अक्सिजनको कमी हुने कारणले गर्दा नै च्याउ, ढुँसी उम्रिन्छ ।
त्यस्तै फोक्सोमा पनि अक्सिजनको कमीका कारण ब्याक्टेरिया भाइरस उम्रिने र गुणामत्क रुपमा विकास हुने गर्दछ । यसरी धेरै पटक ब्याक्टेरियाको विकास भयो भने शरीरमा असर गर्छ र फेरि पनि निमोनिया हुने सम्भावना रहन्छ ।
कसरी थाहा पाउने ?
ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, खकार पहेँलो भएमा, खकारमा रगत आएमा, छाती दुख्ने, छाती घ्यारघ्यार भएर दुईतीन दिनसम्म कडा ज्वरो आएमा तत्काल अस्पतालमा सम्पर्क गर्नुपर्छ । अस्पताल पुगेपछि एक्सरे गरी हेर्दा फोक्सोमा दागहरु देखियो भने निमोनिया प्रमाणित हुन्छ ।
निमोनिया भए नभएको एक्सरेबाट मात्रै प्रमाणित हुन्छ । वातावरणीय प्रदुषणका कारण पनि निमोनिया हुन्छ । प्रदुषणले ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन्छ । यस अतिरिक्त धुम्रपान मद्यपान, खानपानमा लापरवाही, फोहोर, सडेगलेका खानेकुराका कारण पनि निमोनिया हुनेगर्छ ।
कसरी जोगिने ?
निमोनियाबाट बच्नका लागि स्वस्थ जीवनशैली, दैनिक शारीरिक अभ्यास गर्नुपर्छ । यस्तै, धुम्रपान, मध्यपानबाट टाढा बस्नुपर्छ । दम, क्षयरोगका बिरामीले नियमित औषधि सेवन गर्नुपर्छ । यस्तै, मिर्गौला, रक्त क्यान्सर लगायतका बिरामी सजग हुनुपर्छ । वातावरणीय प्रदुषणबाट बच्ने उपायहरु अपनाउनुपर्छ ।
नियमित रुपमा हातको सरसफाइ गर्ने, भिडभाडमा नजाने, धुलो धुवाँबाट बच्ने, सामाजिक दुरी कायम गर्ने नै यसबाट जोगिने उपाय हो । कोभिड–१९ संक्रमण हुनबाट जोगिने उपायजस्तै निमोनियाबाट बच्नका लागि त्यसरी नै सावधानी अपनाउनुपर्छ । नियमित औषधि सेवन गर्ने दीर्घरोगी, धुम्रपान र मध्यपान धेरै गर्नेहरुलाई चाँडै चिसोले समाउँछ । उनीहरुलाई चिसोमा भाइरल इन्फेक्सन बढी हुन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं