सूचनाको शक्ति - The Power Of Information

        

रास्वपा, राप्रपा र जसपामा दुई धार

नयाँ सरकार गठनका लागि दलहरूबीच गृहकार्य भइरहेका बेला त्यसमा सहभागी हुने या नहुने विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) मा दुई धार देखिएका छन् ।

स्रोतका अनुसार रास्वपाका केही सांसदले सरकारमा जाने इच्छा देखाएका छन्। यस विषयमा उक्त पार्टीले औपचारिक रूपमा भने केही निर्णय गरेको छैन ।

तर रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीले चुनावी घोषणापत्रमार्फत उठाएका मुद्दा सम्बोधन हुने अवस्था आए सरकारमा सहभागी हुन सकिने बताए ।

‘घोषणापत्रमा हामीले उठाएका मुद्दा सम्बोधन गर्न अन्य पार्टीले सहमति जनाए भने हामीले बाहिरै बसेर पनि नयाँ सरकारलाई समर्थन गर्न सक्छौं, सरकारमै सहभागी हुन पनि सक्छौं,’ प्रवक्ता ढकालले भने । सरकारमा जाने विषयमा सबै पक्षसँग औपचारिक अनौपचारिक कुराकानी भइरहेको उनले बताए ।

स्रोतका अनुसार सरकारमा सहभागी हुने र नहुने विषयलाई लिएर रास्वपामा दुई धार देखिएका छन् । एउटा धार वर्तमान सत्ता गठबन्धनको पक्षमा र अर्को धार सरकारमा नगई बाहिर बस्नुपर्छ भन्ने देखिएको छ ।

वर्तमान सत्ता गठबन्धनको पक्षमा देखिएका रास्वपाका केही सांसद यही गठबन्धनले बनाउने नयाँ सरकारमा जान इच्छुक देखिएको स्रोतको दाबी छ।

प्रतिनिधिसभामा रास्वपाका प्रत्यक्ष ७ र समानुपातिक १३ गरी २० सांसद छन् । रास्वपा अध्यक्ष रवि लामिछानेले भने सरकारमा जानेनजाने विषयमा केही बोलेका छैनन् ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ०७:४१