तराईका केही भू–भागमा केही समययता बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ । यद्यपि, घाम लागेसँगै यो हट्दै जाने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हुस्सु र कुहिरो लागेसँगै तापक्रम घट्दै जान थालेको छ । जसका कारण बिहान र बेलुका तराईमा पनि जाडो बढेको छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गर्दै आएको छ ।
विभागका अनुसार आज बिहान तराई भू–भागका केही स्थानमा हुसु र कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस छ ।
दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ को पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं