सूचनाको शक्ति - The Power Of Information

        

चौकीमा ताल्चा लगाएर प्रहरी सदरमुकामतिर हिँडेपछि…

हुम्लाको लिमीस्थित प्रहरी चौकी

हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र वडा नं. ६ को लिमीस्थित सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सदरमुकाम सारिएको छ । अत्यधिक चिसो हुने भएपछि यी दुई ठाउँमा कार्यरत प्रहरी सदरमुकाम आएका हुन् ।

जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले हिउँदमा अत्यधिक चिसो हुने र मानिसको चहलपहल पनि नहुने भएका कारण दुवै चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको जानकारी दिए ।

हिउँदमा रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनी मंसिरपछि प्रहरीलाई सदरमुकाम झिकाउने गरेको उनको भनाइ छ । प्रहरी फिर्ता भएपछि चौकीमा ताला लगाइएको छ । हिल्सामा १३ र सुनखानीमा ११ प्रहरी कार्यरत छन् ।

अघिल्ला वर्षमा हिल्सा प्रहरी चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका–५ कै मुचु प्रहरी चौकीमा हिल्साबाट फिर्ता बोलाएर राख्ने गरिए पनि यो वर्ष सदरमुकाममै बोलाइएको हो । दुवै ठाउँका चौकीका प्रहरी जेठसम्म सदरमुकाममै बस्ने र त्यसपछि मात्र चौकीमा फिर्ता हुनेछन् । सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी (बीओपी) भने हिल्सामै छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ११:५९