नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योजना सफल भए तेस्रोपटक आफू प्रधानमन्त्री बन्ने संकेत गरेका छन् ।
कास्की अन्नपूर्ण गाउँपालिकास्थित सानोमा आफूले ‘कखरा’ सिकेको महेन्द्र आधारभूत विद्यालयको ‘हिरक जयन्ती समारोह’ मा बुधबार सम्बोधन क्रममा उनले भने, ‘तपाईहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।’
गत ४ मंसिरको चुनावपछि आफुले पहिलोपटक सार्वजनिक कार्यक्रममा बोलेको बताउँदै उनले ‘भ्रष्टाचार अन्त्यमा लागिपर्ने’ प्रतिबद्धतासमेत जनाए ।
‘भष्ट्राचार नियन्त्रण देश विकासका निम्ति अनिवार्य सर्त छ, २०७४ यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्ति र सरकारमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेर उनीहरुबाट भ्रष्टाचार भएको देखियो भने कडा कारबाहीबाट अगाडी बढ्नुपर्छ’, उनले भने, ‘आर्थिक विकासको दृष्टिकोणले हामीसँग भएका स्रोतसाधन व्यापक परिचालन गर्न सकिन्छ ।
म प्रधानमन्त्री बन्दा केही अविष्मरणीय काम गरेर अवश्य देखाउनेछु ।’
सत्यपाटी संवाददाता । काठमाडौँ