सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा सदस्य निर्वाचन

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै निर्वाचन आयोग

नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुने

निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान छ।

सोही अनुसार बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ। प्रदेश सभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ।

संघमा दुई सय ७५ र प्रदेशमा पाँच सय ५० जना गरी आठ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ०७:२२