बाँकेको नरैनापुर गाउँपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं.१ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ ।
गाउँपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको छ । वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन लिखित जानकारी गराए पनि नभत्काएपछि डोजर लगाएर भत्काएको वडा नं. १ का अध्यक्ष इसाक जोहलले बताए ।
गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाउँपालिकाले डोजर लगाएर भत्काइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
पालिकालाई ब्यवस्थित बनाउने लक्ष्यअनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । ‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि संरचना बनाउन पाउँदैन,’ अध्यक्ष शाहले भने, ‘नियम मिचेर बनाइएका यस्ता संरचना भत्काउँछौं ।’

गाँउपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्रसमेत दिएको थियो । स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहले बताए ।
गाउँको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थित रुपमा सडक विस्तार गर्ने उद्देश्यका साथ स्थानीय प्रहरीको सहयोगमा अतिक्रमित घरटहराहरु भत्काउन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए ।
अध्यक्ष शाहका अनुसार पहिलो चरणमा नरैनापुर वडा नं. १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ । उनले बाँकी रहेका अनाधिकृत रुपमा बनाइएका घर टहरा समयसिमा भित्रै नहटाए डोजर लगाएर भत्काउन बाध्य हुने बताए ।



सत्यपाटी संवाददाता । बाँके