सूचनाको शक्ति - The Power Of Information

        

किसानलाई सकस

हिउँदयाममै बाँकेमा मल अभाव

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात रहेको छ । हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको अभाव हुने देखिएको छ ।

बाँकेमा हिउँदेयामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ । यो मागको एक तिहाइ मात्रै हो ।

जिल्लामा हालसम्म ९८२ मेट्रिक टन मलमात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए । उनका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट १३१ दशमलव आठ मेट्रिक टन युरिया मलमात्रै किसानसम्म पुगेको छ ।

साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए । हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको अभाव हुने देखिएको छ ।

मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ । व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण सुरु गरेको छ । जानकी गाउँपालिका र नेपालगन्जका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले जनाएको छ ।

बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार ५०० मेट्रिक टन डिएपी मलको माग रहेको छ । हालसम्म साल्ट ट्रेडिङमा ७०१ मेट्रिक टन मल आएको छ । उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । साल्ट ट्रेडिङमा हिउँदे यामका लागि १७५ मेट्रिक टन डिएपी मलको कोटा रहेकामा हालसम्म ७७ दशमलव ८५ मेट्रिक टन मात्र आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार ११:४५