निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा उमेर हदका कारण मंगलबारबाट अवकाशमा गएका छन् । उनी बुधबार ६५ वर्ष पुग्ने भएकाले आजैबाट उनको कार्यकाल सकिएको हो । तर, उनी महाभियोग बोकेरै अवकाश भएका छन् ।
नियुक्तिदेखि नै विवादमा परेका जबराविरुद्ध २१ वटा अभियोग लगाएर फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोग प्रस्ताव गर्ने सांसदहरूको कार्यकाल सकिएर नयाँ सांसदहरू पनि आइसकेका छन् । तर, उनीविरुद्धको महाभियोग भने टुंगिएको छैन ।
उनले अन्तिम समयमा केहीदिन भए पनि सर्वोच्चमा फर्किएर सम्मानजनक बहिर्गमन चाहेका थिए । तर, उनको प्रयास असफल भयो । संसद्को कार्यकाल समाप्त भएको र आफूविरुद्धको महाभियोग पनि निष्क्रिय भएको भन्दै उनले संसद् सचिवालयमा मंसिर २० गते निलम्बन फुकुवाको माग गर्दै पत्र लेखेका थिए ।
संसद्का महासचिव भरतराज गौतमले पनि निलम्बन फुकुवा भएको जानकारीसहित जबरालाई पत्र पठाएका थिए । तर, संसद्का महासचिवको पत्र कार्यान्वयनमा आएन । पत्रविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सर्वोच्च फर्किने जबराको चाहना अन्तिम पटक असफल भयो ।
उनको जन्म २०१४ साल मंसिर २८ गते भएको थियो । २०३६ सालमा कानुन व्यवसायीको प्रमाणपत्र पाएका उनले १७ वर्ष कानुन व्यवसायी भएर काम गरे । उनी कानुन व्यवसायीबाट २०५३ सालमा पुनरावेदन अदालत जनकपुरको अतिरिक्त न्यायधीशमा नियुक्ति भई न्याय सेवामा प्रवेश गरेका थिए ।
जबरा २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । प्रधानन्यायाधी ओमप्रकाश मिश्रले २०७५ पुस १८ गते अवकाश प्राप्त गरेसँगै उनी प्रधानन्यायधीश भएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं