चिसोका कारण छेउछाउमा तुषारो जमिरहेको छ तर चैत–वैशाखमा पाक्ने काफल मङ्सिरमै रातो हुन थालेको छ । काफलको रुखमुनि भवगान् गणशेको जस्तो आकृति र अद्भूत गुफा भएका कारण यहाँ चार दशकदेखि पूजा हुँदै आएको छ ।
वसन्त ऋतुमा पाक्ने काफल हेमन्त ऋतुमै रातो हुन थालेपछि प्रकृतिको लीला र दैवीय कारणले सधैँ यस्तो हुने गरेको जनविश्वास छ । बैतडीको सिगास गाउँपालिका–१, गोलेधारको ठूलाखोमा यस्तै जनविश्वास बलियो बनाउने गरी मङ्सिरमै काफल पाकेको हुन सक्ने स्थानीय धार्मिक अगुवा रामप्रसाद भट्टले बताए ।
गुफा र काफलको संरक्षणका लागि त्रिशूल बनाएर पूजा गर्दै आएका स्थानीय दिपक विश्वकर्माले यो काफलको फल कहिल्यै रित्तो नहुने बताए । उनका अनुसार जलवायु परिवर्तनका कारणले पाँच महिनाअघि नै काफल पाकेको मान्ने हो भने छेउछाउमा रहेका अन्य काफलमा बाला लागेको देखिन्छ, दाना पाकेको देखिँदैन ।
यहाँ दर्शन गर्न आउनेले जहिले पनि काफलको रुखमा फल लागेको पाउने गरेको स्थानीय विश्वकर्माले बताए । गुफा रहेको वडाका स्थानीयवासी बसाइँसरेर तराई झरेपछि आफ्नो मनोकामना पूरा भएको भन्दै फर्केर यहाँ पूजा गर्न आउने गरेको स्थानीयले बताएका छन् ।
गुफा र काफल भएको ठाउँमा मन्दिर स्थापना गर्नसके यहाँ दर्शन गर्न आउनेलाई सहज हुने स्थानीयले बताएका छन् । गुफाको संरक्षण र खोज विस्तृत खोज अनुसन्धानका लागि स्थानीय सरकारसँग पनि यहाँका धार्मिक अगुवाले माग राखेका छन् ।
सत्यपाटी संवाददाता । बैतडी