सूचनाको शक्ति - The Power Of Information

        

सुख्खायाम लागेसँगै भारतबाट बिजुली खरिद

बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आइआइएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो ।

हाल करिब दुई हजार २०० मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार ६०० मेगावाट छ । गत मंसिर २१ गतेबाट आयात सुरु गरेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । बिहान करिब ३ बजेदेखि ११ बजेसम्म विद्युत् आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको पानी सञ्चित गरिन्छ ।

प्राधिकरणका अनुसार मङ्सिरमा निर्यातको औसत दर करिब सात रुपैयाँ ७० पैसा छ भने खरिद दर भने औसत पाँच रुपैयाँ १० पैसा छ । मङ्सिर २१ देखि २५ सम्म पाँच दिनमा प्राधिकरणले करिब ३८ लाख युनिट बिजुली खरिद गरेको छ । यद्यपि नियात पनि सँगसँगै भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

यसैबीच ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको उल्लेख छ । हिउँदमा जलप्रवाह घटेर विद्युत् उत्पादन कम हुने भएकाले निर्यात रोकिए पनि अर्को वर्षको जेठको अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे सात अर्ब रुपैयाँको विद्युत् निर्यात गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको आँकलनअनुसार चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदैछ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १२:००