सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

मौसम विभागले भन्यो, ‘चिसो बढ्दैछ, सावधानी अपनाउनु’

पछिल्लो केही समय यता उल्लेखनीय मौसमी प्रणाली नहुँदा वर्षा र हिमपात हुन सकको छैन । आज पनि देशका कुनै पनि भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको छैन । यद्यपि, चिसो भने बढ्दै गइरहेको छ ।

तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जानेक्रम रहेको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ ।

सोमबार (हिजो) यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो । सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहको छ ।

पौने ९ बजे अझै चिसो बढेर तापक्रम घट्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार ०८:१५