सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–आलेख

कसले ढाल्यो समृद्धिको पिरामिड–म्याग्नेसाइट उद्योग ?

२०५५ सालसम्म ओरियन्ट म्याग्नेसाइटको उत्पादन विश्व बजारमा उच्च माग हुँदाहुँदै भारतीय एक कम्पनीको दबाबमा ०५५ सालमा उद्योगमा आग्लो लाग्यो ।

सिन्धुपाल्चोकको नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योगमा आग्लो लागेको दुई दशक नाघेको छ । २०३६ सालमा तीन अर्ब ५९ करोड रुपैयाँको लगानीमा सञ्चालन शुरु गरिएको दक्षिण एसिया कै प्रचुर सम्भावना बोकेको यो उद्योग अहिले बन्द छ ।

यस उद्योगमा तत्कालीन सरकारको औद्योगीकीकरण अभियानमा हातेमालो गर्ने दातृ मुलुकले, नेपालको समृद्धिको गतिलो पिरामिड नाम दिएर लगानी गरिदिएका थिए । कृषि, पशु र खाद्य उद्योग तथा निर्माण सामग्री बनाउन प्रयोग हुने क श्रेणीको म्याग्नेसाइट उत्पादन गर्ने नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग ०५९ सालयता नेपाल सरकारको रुग्ण उद्योगको सूचीमा छ ।

२०५४ सालसम्म राम्रोसँग चलेको र एशियाली देशमा गुणस्तरका हिसाबले खपत हुने औद्योगिक ईट्टालाई निरन्तर प्रतिस्थापन गरिरहेको म्याग्नेसाइट उद्योग चल्न नसक्ने गरी थला परेको छ । दोलखाको मुडे र दोलखाको लाँकुरी गाविसको सीमानामा पर्ने खरिढुंगासँगै सिन्धुपाल्चोकको लामोसाँघुमा उद्योग सञ्चालनका लागि अधिग्रहण गरेको ५ हजार ३५५ रोपनी जमिन समेत अलपत्र छ ।

नेपाल सरकारको तथ्यांक अनुसार औद्योगिक उत्पादन, विश्व बजारमा यसको माग र गुणस्तरका हिसाबले ओरियण्ट म्याग्नेसाइट सबैभन्दा ठूलो संभावनायुक्त उद्योग हो । जसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि तत्कालीन पञ्चायत सरकारले उद्योग रहेको स्थान सिन्धुपाल्चोकको हाल बलेफी गाउँपालिका–८ मा ३६६ रोपनी जग्गामा उद्योगसहित विभिन्न संरचना बनाएको थियो ।

खरीको खानी रहेको दोलखाको भीमेश्वर नगरपालिका–९ खरीढुङ्गामा पाँच हजार २०० रोपनी क्षेत्रमा विशाल खानी क्षेत्र अहिले पनि अलपत्र छ भने खानी क्षेत्रबाट उद्योगसम्म जोडिएको रोप–वे ३० वर्षदेखि सञ्चालनमा आएको छैन । उद्योगका लागि आवश्यक कच्चा पदार्थ ढुवानीका निम्ति बनाइएको रोप–वेका अधिकांश पूर्वाधार मासिइसकेका छन् ।

उद्योग सञ्चालनका नाममा लुट

चल्दा चल्दैको उद्योग रातारात विना कुनै अध्ययन अथवा विना कुनै समस्या तत्कालीन सरकारको दबाबमा बन्द गरिएपछि यही उद्योगमा प्रत्यक्षरूपमा आश्रीत दुई हजारभन्दा बढीको रोजीरोटी खोसिएको छ । २०५५ सालसम्म ओरियन्ट म्याग्नेसाइटको उत्पादन विश्व बजारमा उच्च माग हुँदाहुँदै भारतीय एक कम्पनीको दबाबमा ०५५ सालमा उद्योगमा आग्लो लाग्यो ।

प्रभावित स्थानीय र कर्मचारीको दबाबपछि पुनः उद्योग सञ्चालनका लागि प्रयत्न हुँदा २०५८ सालमा तत्कालीन माओवादीले ओरियन्ट म्याग्नेसाइट उद्योगमा आगजनी गरेर करोडौंको सामान नष्ट गर्यो । त्यसवेला नेपाली उत्पादनको माग बढिरहेको थियो भने भारतीय उत्पादनको बजार खुम्चिरहेको थियो ।

त्यसैले पनि भारतीय प्राविधिक र व्यापारीको दबाबमा माओवादी समेतले यो उद्योग सञ्चालन हुन नदिने गरी आगजनी गराइएको विश्लेषण अहिले पनि गरिन्छ । माओवादीले उद्योगमा आगजनी गर्दा सरकारले कर्मचारी सञ्चय कोषसँग उद्योग सञ्चालन गर्न २० करोड ऋण लिएको थियो र त्यसबेला राज्यको लगानी खेतान समूहले नै परिचालन गरेका थियो ।

नियोजित रूपमै बन्द गरिएको उद्योगको खानी क्षेत्रमा माओवादीले अवरोध र आगजनी गरेपछि भग्नावाशेष उद्योग चलाउन भन्दै खेतान समूहले पुनः २० करोड माग गरेको थियो । म्याग्नेसाइट उद्योग सञ्चालनको सम्भावनाबारे चासो राख्दै आएका पूर्व उद्योग मन्त्री महेश बस्नेत–खेतान समूहबाट उद्योग सञ्चालन नहुने र नाफा पनि आफूले मात्र खाने नियत देखिएपछि तत्कालीन सरकारले फाइल नै अघि नबढाएको दाबी गर्छन् ।

बस्नेतका अनुसार उद्योग मन्त्रालयमा उक्त फाइल त्यसपछि थन्किएको छ । नेपाल सरकारले उद्योग चलाउन चासो नदेखाएको निष्कर्षपछि उद्योग सञ्चालनमा अवरोध सिर्जना गर्ने समूह कै संरक्षणमा थुप्रै बहुमूल्य मेसिनका पार्टपुर्जा चोरी भइसकेका छन् । उद्योग सञ्चालनका लागि अतिआवश्यक महँगा पाटपूर्जा अभावकै कारण २३ वर्षदेखि उद्योग सञ्चालनको प्रश्न राजनीतिक नारा मात्रै बनेको छ ।

उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत, खेतान समूहको १२.५ प्रतिशत र भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत लगानी रहे पनि सरकार एक्लैले केही सुरक्षा गार्डबाहेक १६ जना कर्मचारीलाई काठमाडौंमा राखेर तलव बाँडिरहेको छ । भारतीय कम्पनीको गलत नियत र नेपाल सरकारको बेवास्ताका कारण बन्द भएको उद्योग पुनः सञ्चालन गर्न अहिले न खेतान समूहले चासो दिएको छ न उडिसा इन्डस्ट्रिजले नै ताकेता गरेको छ ।

रुग्ण उद्योग सञ्चालन कार्यक्रम अन्तर्गत चालु अर्थिक वर्ष २०७८–०७९ मा पनि नेपाल सरकारले ओरियण्ट म्याग्नेसाइटलाई बीस लाख बजेट विनियोजन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहमतिमा उद्योग सञ्चालनको प्रयत्न हुँदा समेत खेतान र उडिसाका प्रतिनिधिले बागमती प्रदेश सरकारसँग सकारात्मक साझेदारी गरेका छैनन् ।

उद्योगमा कार्यरत कर्मचारीका लागि अर्थ मन्त्रालयले हरेक वर्ष तलब, भत्ता, पोसाक, इन्धन लगायतमा करिब डेढ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ तर साढे १२ प्रतिशत दरका सेयरधनी खेतान र उडिसा इन्डस्ट्रिजले भने २३ वर्षयता एक रुपैयाँ पनि खर्च गरेको तथ्यांक छैन ।

२५० वर्षसम्म पुग्ने म्याग्नेसाइट र खरी

जर्मन कम्पनी ग्रान्डस्टक टेक्निकलको सहयोगमा खानी विभागले ३७ वर्षअघि १० वर्ष लगाएर गरेको खानीको विस्तृत अध्ययन अनुसार खरिढुंगा क्षेत्रका दुई खानीमा ३० करोड टन म्याग्नेसाइट रहेको अनुमान छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएमा ओरियन्ट म्याग्नेसाइट उद्योगमा २५० वर्षसम्म पुग्ने म्याग्नेसाइट र खरी रहेको अध्यन प्रतिवेदनमा उल्लेख छ ।

उद्योग सञ्चालन गर्न सके वार्षिक अर्बौं रुपैयाँको म्याग्नेसाइटको उत्पादन विश्व बजारमा निर्यात हुन्छ । किनकी सञ्चालनको छोटो अवधि मै नेपाली उत्पादनले चीन, भारत र बंगलादेशको उत्पादनलाई समस्यामा पारेको थियो । त्यसपछि नै यो चालु अवस्थाको उद्योगमा आग्लो लागेको हो । जसमा माओवादी सशस्त्र युद्ध सहायक बन्न पुग्यो ।

त्यसपछि दोलखास्थित म्याग्नेसाइट खानी सञ्चालन गर्न अहिलेसम्म सरकारले मोडालिटी नै बनाइएको छैन । २ दशकसम्म उद्योगको एक पैसा दायीत्व वहन नगरेको खेतान समूहले पछिल्लो पटक यो उद्योग सञ्चालन गर्न करिब १० करोड लाग्ने र एक वर्ष परीक्षणको रूपमा उद्योगलाई आफ्नो व्यवस्थापनमा सञ्चालन गर्न दिनुपर्ने शर्त राखेको छ ।

परीक्षण उत्पादन सफल भएमा नाफाको आधा हिस्सा आफूलाई दिनुपर्ने उसको प्रस्ताव नेपाल सरकारले स्वीकार गरेको छैन । भारतीय ओरिसा सिमेन्ट इन्डष्ट्रिज (ओरियन्ट)ले उद्योगको व्यवस्थापन सम्हाल्दा पूर्ण क्षमतामा चलेको यो उद्योग नेपाल सरकारले व्यवस्थापन सम्हालेको १० वर्षमा कम्पनी नै बन्द भएको हो ।

त्यसपछि कम्पनीको सबै दायित्व ७५ प्रतिशत शेयर भएको नेपाल सरकारले मात्रै बहन गरिरहेको छ । उद्योगबाट उत्पादित म्याग्नेसियम र खरी ढुवानीका लागि बनाइएको रोपवे निर्माण गर्ने दामोदर कम्पनीले रकम भुक्तानीका लागि अदालत गुहार्नु परेको छ तर एक महिनासम्म राम्रैसँग चलेको रोप–वे नै बन्द गरिएको छ ।

के हो म्याग्नेसाइट ?

 

उच्च तापमानयुक्त औद्योगिक उत्पादनमा प्रयोग हुने म्याग्नेसाइट फलामलाई तताएर तरल बनाएपछि आकार दिन प्रयोग हुन्छ । कुखुरा र गाइवस्तुको दाना उद्योगसहित ६० प्रकारका औद्योगिक उत्पादनमा यसको प्रयोग हुन्छ । यसका लागि आवाश्यक कच्चा पदार्थ दोलखाको लाकुरीडाँडा क्षेत्रमा ५ हजार रोपनी जमिनमा पर्याप्त छ ।

म्याग्नेसाइट उद्योग सञ्चालन गर्न सके वार्षिक अर्बौं रुपैयाँको म्याग्नेसाइटको उत्पादन विश्व बजारमा निर्यात हुन्छ । किनकी सञ्चालनको छोटो अवधि मै नेपाली उत्पादनले चीन, भारत र बंगलादेशको उत्पादनलाई समस्यामा पारेको थियो । त्यसपछि नै यो चालू अवस्थाको उद्योगमा आग्लो लागेको हो । जसमा माओवादी सशस्त्र युद्ध सहायक बन्न पुग्यो ।

म्याग्नेसाइट (विशेष प्रकारको ढुंगा) हो । म्याग्नेसाइट कच्चा पदार्थ हो जसलाई प्रशोधन गरेर क्याल्साइन नामक ईटा बनाइन्छ । म्याग्नेसाइटसँग टाँसिएर रहेको पदार्थबाट बाई–प्रडक्टका रूपमा चिल्लो पदार्थ खरी उत्पादन हुन्छ । लाकुरीडाँडा क्षेत्रमा पाइँने विभिन्न चार प्रकारको म्याग्नेसाइटबाट बनेको ईटा २ हजार डिग्रीभन्दा बढी तापक्रममा पनि नपग्लिने हुँदा ठुल्ठूला आणविक भट्टीमा यसको प्रयोग हुन्छ ।

नेपालमा अहिले चालु अवस्थामा रहेको दर्जनौं सिमेन्ट, स्टिल, फलाम, जस्ता पाता लगायत उद्योगले भट्टी निमार्णका लागि अरबौं तिरेर भारत तथा चीनबाट क्याल्साइन नामक ईटा आयात गरिरहेका छन् । मुलुकभित्रको उच्च गुणस्तरयुक्त उद्योगमै आग्लो लागेपछि सौन्दर्य प्रशोधन, कपडा, साबुन, कागज उद्योगमा खपत हुने क्याल्साइन पनि विदेशबाटै आयात भइरहेको छ ।

जबकि भारतमा उत्खनन गरिने म्याग्नेसाइटभन्दा यो उद्योगबाट उत्पादन हुने म्याग्नेसाइट उच्च गुणस्तरको रहेकाले यसको नजिकको मुख्य बजार भारत हो । नेपालमा उत्खनन हुने ४ प्रकारको म्याग्नेसाइटमध्ये उद्योगको ‘ए’ ग्रेडको म्याग्नेसाइटलाई भारतीय बजारमा कम्तीमा टनको एक लाख बिक्री हुन्छ । यसले भारतीय बजार र उत्पादन सुकाउन सक्छ ।

दोलखा जिल्लाको लाकुरीडाँडास्थित करिब दुई वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खानीमा १८ करोड टन म्याग्नेसाइट भएको अनुमान छ । म्याग्नेसाइटलाई एक हजार ८०० डिग्री सेल्सियसमा पोलेर बनाइएको डीबीएम उच्च तापक्रम थेग्न सक्ने भट्टी बनाउन प्रयोग हुने हुँदा विदेशमा पनि माग उच्च छ ।

उद्योग सञ्चालन भएमा दैनिक करिब ८० टनसम्म उत्पादन हुने भट्टी वर्षैभरि प्रयोगमा ल्याउन सकिन्छ । भारतको रक्सौल पुर्याउँदा डेटबर्नट म्याग्नेसाइट (डिविएम) को करिब ५० हजार र कस्टिक क्याल्साइन म्याग्नेसाइट (सिसिएम)को प्रतिटन २५ हजार रुपयाँ पर्छ ।

फेरि परीक्षणको प्रयत्न

उद्योग कसरी र किन बन्द भयो भन्नेमा पूर्व कर्मचारी, कामदार र व्यवस्थापनका पूर्वकर्मचारी अहिले पनि अचम्मित छन् । किनकी राम्रोसँग उत्पादन भइरहेको उद्योग बिना पूर्व जानकारी एकै रातमा बन्द गरिएको थियो ।

बेलुकीको सिफ्ट काम गरेर घर गएका कर्मचारी प्रदिप कार्की भोलिपल्ट बिहानी सिफ्टका कर्मचारी ड्युटीमा आउँदा उद्योग नै बन्द भइसकेको बताउँछन् । बिना छलफल, बिना लेखापरीक्षण, बिनाविश्लेषण एकै रातमा उद्योग किन बन्द भयो भन्ने जवाफ दिएर मात्र सरकारले पुनः सञ्चालनको प्रयत्न गर्नुपर्ने पूर्वकर्मचारीहरूको माग छ । किनभने यो नेपाल र नेपालीको समृद्धिविरुद्ध गरिएको नियोजित षड्यन्त्र थियो ।

यो बीचमा ०७० सालमा मौसमअनुसार क्यालसाइन उत्पादन कस्तो हुन्छ भनेर उद्योग परिसरमै परीक्षण गरिएको थियो । परीक्षणको रूपमा उत्पादित क्याल्साइन (इँटा) प्रति गोटा पाँच हजारसम्म बिक्री गर्न सकिने प्रतिवेदन उद्योग मन्त्रालयमा लुकाइएको छ । प्रतिवेदनमा म्याग्नेसाइटबाट उत्पादित वस्तु चिनियाँ बिक्री मूल्य बराबरमैै बिक्री गर्न सक्ने उल्लेख भएर पनि पुनः सञ्चालन गर्न खोज्दा आन्तरिक रूपमा अवरोध सिर्जना गरिएको थियो ।

त्यसैले यो उद्योग बन्द गर्न लागि परेको गिरोह निस्तेज नभएसम्म उद्योग सञ्चालन गर्नुको अर्थ नरहने कर्मचारीहरू बताउँछन् । तैपनि म्याग्नेसाइट उद्योग बन्द भएको २९ वर्ष र खरी उद्योग बन्द भएको सात वर्षपछि यो बीचमा सरकारी तवरबाट उद्योग सञ्चालनको तयारी भएको हो ।

बागमती प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले उद्योग सञ्चालन संभावनाको अवलोकन गरी खरी उद्योग पुनः सञ्चालनको प्रक्रिया सुरु गरिने बताएका पनि थिए । सरकार परिवर्तन भएपछि यो प्रतिवद्धतामै सीमित भयो । तत्कालीन मन्त्री सरेश नेपाल, आफूले खरी खानी र उद्योगलाई सामान्य मर्मतपछि सुरु गर्न सकिने जानकारी अनुरुप सञ्चालनको प्रक्रिया सुरु गरेको दाबी गर्छन् ।

खानी क्षेत्रमा पुगेर– ‘प्रदेश सरकारले रुग्ण उद्योग सञ्चालनको नीति कार्यक्रम संसद्बाट पारित गरी बजेटको समेत व्यवस्थापन गरिसकेका थियौं तर सरकार परिवर्तन भएपछि यो प्राथमिकतामा पारिएन, नेता नेपालको आरोप छ । उद्योगका प्राविधिक प्रदीप कार्कीका अनुसार सरकारी प्रयास सकारात्मक भए खरी उत्पादन गर्ने मेसिन सञ्चालन गर्न सकिने अवस्थामा छ ।

म्याग्नेसाइट र रोप–वे भने सानो लगानीमा सञ्चालन गर्न सकिने अवस्था छैन । खरी खानीबाट ढुवानी गरी म्याग्नेसाइटको सानो उद्योग सञ्चालन गर्दा प्रतिघण्टा पाँच टन खरी पेल्न सकिने अवस्था छ । अहिले भने एउटा प्रश्न जीवन्त छ, मुलुकको समृद्धिको आधार, उद्योगको गर्भ क्षेत्रमा खपत हुने, र महँगा सामग्री उत्पादन गर्ने क्षमताको यो समृद्धिका पिरामिड कसले किन ढाल्यो ? तथ्य उजागर गर्नुपर्दैन ?

स्रोत : आइएनएस–स्वतन्त्र समाचार
प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १२:२८