सूचनाको शक्ति - The Power Of Information

        

केपी ओलीलाई भेट्न किन बालकोट पुगे अर्जुननरसिंह केसी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस नेता केसी बालकोटस्थित उनकै निवास पुगेका हुन् । अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच करिब दुई घण्टा छलफल भएको छ ।

ओलीको निमन्त्रणामा केसी उनलाई बालकोट पुगेको केसीको सचिवालयले जनाएको छ । आइतबार साँझ भएको भेटमा अध्यक्ष ओली र नेता केसीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

उनीहरूबीच नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरूबीच आवश्यक एकता र सहकार्य गर्नेबारे पनि छलफल भएको केसीको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष ओलीले भारतले अतिक्रमण गरेको नेपाली भू-भाग फिर्ता गराउन भारतीय पक्षसँग वार्ता गर्नुपर्ने बताएका थिए । ओली प्रधानमन्त्री हुँदा सरकारले भारतले अतिक्रमण गरेको भनिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर चुच्चे नक्सा जारी गरेको थियो ।

भेटमा द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने विषयमा पनि उनीहरूबीच कुराकानी भएको छ । भ्रष्टाचारविरुद्ध एक भएर लड्ने र अन्तर्राष्ट्रिय बजारमा घटेको पेट्रोलियम पदार्थको मूल्यअनुसार नै नेपालमा त्यसको घटाउने विषयमा सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिएको केसीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार ०९:२४