निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ ।
आयोगका समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पठाएको नाम सच्याउनुपर्ने नदेखिएको बताएका हुन् ।
दलहरुले समानुपातिकतर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सिट संख्या तोकेर नाम पठाउन दलहरुलाई पत्राचार गरेको थियो । त्यसपछि शनिबार दलहरुले आआफूले पाएको सिटमा नाम पठाएका थिए ।
‘प्रतिनिधि सभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनैपनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठीक छ’ उनले भने । प्रदेशसभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको सहप्रवक्ता वाग्लेले बताए ।
अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरेको, मुस्लिममा १ नम्बरको सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरेको, अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूहको व्यक्ति सिफारिस गरेको पाइएको आयोगले बताएको छ ।
त्यस्तै अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम सिफारिस गरेको, खस आर्यको पहिलो प्राथमिकताक्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको, ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको, महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस गरेको पनि भेटिएको वाग्लेले बताए ।
यस्ता त्रुटि सच्याउन दलहरुलाई मंसिर २६ गते दिउँसो ४ बजेसम्मको समय दिएको पनि सहप्रवक्ता वाग्लेले बताए । ‘सुधार सहितको विवरण प्राप्त भइसकेपछि त्यसरी बन्दसूचीमा रहेका उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गर्छ र त्यसपछि उहाँहरुलाई प्रमाणपत्र वितरण हुन्छ’ उनले भने ।
सत्यपाटी संवाददाता । काठमाडौँ